४ पुष २०७४, मंगलवार

सरकारले कानूनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन नचाहेको भन्दै संविधान अनुरुप नै सत्ता हस्तान्तरण गर्नेतर्फ अग्रसर रहेको जनाएको छ । बाम गठबन्धनले सरकारमाथि लगाएको आरोपको खण्डन गर्दै संवैधानिक प्रक्रिया पूरा गरेरमात्रै सरकारबाट बाहिरिने जनाएको हो ।

मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेर सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतनले कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन नचाहेको बताउनुभयो । उहाँले अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किएको जनाउदै अध्यादेश पारित नभएसम्म सत्ता हस्तान्तरण प्रक्रिया अघि नबढ्ने समेत जानकारी दिनुभयो ।

उहाँले २ महिनाअघिबाट राष्ट्रपति कार्यालयमा बुझाएको राष्ट्रिय सभा विधेयक निर्वाचन सम्बन्धि अध्यादेश अहिलेसम्म रोकिएको भन्दै राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरेर सत्ता हस्तान्तरणको प्रकियालाई ढिला गरेको जिकिर गर्नुभयो ।

कार्यक्रममा मन्त्री बस्नेतले प्रत्यक्षतर्फको नतिजाले केही दलमा अहंकार पलाएको जनाउँदै सत्ता हस्तान्तरणका लागि बैधानिक बाटोको खोजी भइरहेको बताउनु भयो ।

राष्ट्रिय सभा अध्यादेश पारि नभई सरकार हस्तान्तरणको प्रक्रिया नहुने हुँदा सरकारको आयु अझै केहि लम्बिने संकेत देखिएको छ ।

LIVE TV