
काठमाडौं– विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर इपिएल लिगमा विजयी सुरुवात गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको दोस्रोम विराटनगरले ललितपुर पाट्रिओट्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको हो।
विराटनगरले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४४ रन जोड्न सक्यो। ललितपुरका लागि कुशल भुर्तेलले १९ बलमा नटआउट २० रन जोडेपछि जितको लागि पर्याप्त हुन सकेन। मेहबुब अलामले नटआउट १३ रन बनाए।
त्यसअघि ओपनिङ ब्याट्सम्यान पवन सर्राफले ५१ रनको योगदान गरे। पवनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरे। जयकिशन कोल्शावालाले १२ तथा योगेश नागरले २७ रन बटुले। कप्तान ज्ञानेन्द्र मल्ल भने १ रनमै आउट भएका थिए। बलिङतर्फ विराटनगरका कप्तान पारस खड्का, अंशुमान राथ, बसन्त रेग्मी र करण केसीले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो। विराटनगरका लागि अनिल कुमार साहले ४७ रनको योगदान दिए। नागरबाट बोल्ड हुनुअघि उनले ३५ बलमा २ चौक र ३ छक्का प्रहार गरे। कप्तान पारसले रनआउट हुनुअघि ३८ तथा बाबर ह्यातले ३४ रन जोडे। अनिल शाह खेलको म्यान अफ दि म्याच घोषित भए।