४ पुष २०७४, मंगलवार

पार्टी एकता भाँडिने आशंका बढिरहेका बेला बाम गठबन्धनको पहिलो घटक नेकपा एमालेले माओवादी केन्द्रसंग सम्मानजनक रुपमा शक्ति बाँडफाँट गर्न तयार रहेको जनाएको छ । माओवादी केन्द्रको सोमवारको बैठकले सरकार गठनसंगै एकता र पद बाँडफाँटको खाका तयार गर्नुपर्ने निर्णय गरेपछि एमालेले प्रतिक्रिया दिएको हो ।

माओवादी केन्द्रले पार्टीको नीतिसंगै नेतृत्वबारे पनि छिनोफानो हुनुपर्ने शर्त अघि सारेको छ । निर्वाचन सकिए लगत्तै पार्टी एकीकरण अगाडि बढाउने बताउँदै आएका एमाले र माओवादी केन्द्रबीच त्यो प्रक्रिया ठोस रुपमा अघि बढेको देखिएको छैन । एमाले नेताहरुले सरकार गठनमा जोड दिइरहेको बेला माओवादीले पार्टी एकतालाई उत्तिकै प्राथमिकता दिनुपर्ने प्रस्ताव राखेको छ ।

निर्वाचनपछि बसेको माओवादी केन्द्रिय कार्यालयको पहिलो बैठकले विभिन्न पदहरुको बाँडफाँटको खाका तयार हुनुपर्ने निर्णय गरेको छ । भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीले सत्ता सम्हाल्दा पार्टीको नेतृत्वदायी भूमिका भने माओवादीलाई दिइनुपर्ने कतिपय माओवादी नेताहरुले बताउने गरेका छन् ।

त्यससंगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख अनि प्रदेशका सरकार प्रमुख जस्ता पद पनि छन् । गठबन्धन बनाएर निर्वाचनमा बहुमत ल्याएका यी दुई दलले एकतालाई निष्कर्षमा पु¥याउने बताउँदै आएका छन् । तर शक्ति बाँडफाँट र राजनीतिक विचारधारामा एकरुपता ल्याउनु चुनौतीपूर्ण हुने कतिपयको आंकलन छ ।

LIVE TV