
राम गोपाल तमखु
भक्तपुर । भक्तपुरको ढलको पानी प्रशोधन हुने भएको छ । भक्तपुरको अधिकांश ढल खोलामा मिसाईने प्रवृतिको अन्त्य गर्न काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले भक्तपुरको सल्लाघारीमा खोलाको फोहर पानी प्रशोघन गर्न प्रशोधन केन्द्र निमार्ण कार्य सुरु भएसँगै भक्तपुरमा बग्ने खोलानालाहरु सफा हुने भएका छन् ।
काठमाडांै उपत्यका खानेपानी लिमीटेडले भक्तपुरको खसाङखुसुङ खोला, हुनमन्ते खोला र मनहरा खोलामा मिसाउने ढलको पानि प्रशोधन गर्ने भएको छ । नगरबाट बग्ने ढलको फोहर पानीलाई प्रशोधन गरी सफा पानी बगाउने उद्धेश्यले योजना सुरु गरिएको हो । करीव ३४ बर्ष अगाडि जमर्नी परियोजनाले निमार्ण गरि संचालनमा ल्याएको केहि बर्षमै प्रयोगविहीन भएको सल्लाघारी स्थित प्रशोधन केन्द्र पुनः सञ्चालनमा ल्याउन केयुकेलले पूनर्निमार्ण सुरु गरेको हो । सो प्रशोधन केन्द्र पुननिर्माणको लागि एडिवी, ओपेक र नेपाल सरकारको करीव ३ अर्व रुपैयाँको लागतमा साफ्वन वाटर सर्भिस नामक चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको छ ।
परियोजनाले भक्तपुरको हनुमन्ते र खासाङखुसुङ खोलाको दाँयाँ वाँया पाईप विछ्याई ढलको फोहर पानी प्रशोधन केन्द्रमा ल्याएर प्रशोधित पानी मात्र खोलामा बगाउने लक्ष्य लिएको छ भने फोहर पदार्थलाई मल र ग्यासमा परिणत गरिने परियोजना व्यवस्थापक सुरतकुमार बनले जानकारी दिनुभयो ।परियोजना हुने भएपछि भक्तपुरका स्थानीय खुसी भएका छन् भने भक्तपुरका सबै खोला तथा नदीहरु सफा हुने अपेक्षा गरिएको छ ।