३ पुष २०७४, सोमबार

कमाठमाडौं । दुई युवकले शनिबार बिहान आफुहरुलाई अपहरण गरी १४ लाख १५ हजार लुटिएको भन्दै उजुरी लिएर महानगरीय प्रहरी वृत्त जनसेवामा पुगे र शुक्रबार दिउसो करिब ३ बजे सुन्धाराबाट आफुहरुलाई अपहरणमा परेको उनीहरुको उजुरी गरे ।

पेस्तोल र सञ्चार सेट बोकेका व्यक्ति सेतो नम्बरको बा २ ब ९७ नम्बरको मोटरसाइकलमा आई अपहरण गरेर स्वयम्भुमा लिएर गई बन्धक बनाएको स्याङजा कालिगण्डकी गाउँपालिकाका २२ वर्षिय बसन्त भट्टराई र पर्वत पैयु घर भएका २१ वर्षिय कृष्ण काफ्लेको उजुरी थियो । आफुहरु प्रहरी भएको भन्दै अपहरण गरेको र कसैलाई जानकारी गराएमा मार्ने धम्की दिएको भन्दै उजुरी गर्न पुगेका थिए ।

उजुरी सुन्दा शंका गर्ने ठाउँ थिएन । जनसेवा वृत्तका डिएसपी मोहन थापाले गम्भीरताका साथ घटनाको अनुसन्धान अघि बढाए । अपहरणकारी भनिएका व्यक्तिहरुको हुलिया प्रहरीले हुलिया लियो । सञ्चार सेट र सेतो नम्बरको नम्बरप्लेट भएको व्यक्तिले अपहरण गरेको भनिएकाले कोही प्रहरी नै संलग्न हुनसक्ने कोणबाट समेत अनुसन्धान अघि बढ्यो ।

पीडितहरु अपहरणमा परेको भनिएको सुन्धारास्थित घटनास्थलबाट अनुसन्धान सुरु भयो । त्यहाँ रहेका सिसिटिभी फुटेज प्रहरीले हेर्न थाल्यो । त्यही क्रममा उनीहरुले पहिला भनिएको कुरा बाँझिन थालिसकेको थियो । त्यसपछि प्रहरीले उनीहरुलाई बन्धक बनाएको भनिएको ठाउँ देखाउन आग्रह ग¥यो । तर, उनीहरुले त्यो ठाउँ पनि देखाउन सकेनन् । त्यसपछि प्रहरीको अनुसन्धानले अर्को मोड लियो ।

लुटिएको भनिएको ठाउँमा सिसिटिभी फुटेजमा केही नदेखिएको र बन्धक बनाएको ठाउँ समेत नखुलेपछि प्रहरीले उजुरीकर्ताहरु भट्टराई र काफ्लेमाथि नै अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा घटना बनावटी भएको खुल्यो । ‘हुन्डीबाट आएको १४ लाख ५० हजार रुपैयाँ पचाउनका लागि उनीहरुले यस्तो नाटक गरेका खुल्न आएको छ ।

जनसेवा वृत्तका डिएसपी थापाका अनु्सार लुटेको भनेर नाटक गरी त्यो पैसा बाँढेर खान लागेका अनुसन्धानमा खुलेको छ । भट्टराई र काफ्ले दुवै जना हुन्डीका एजेन्ट हुन् । दुबईबाट गोपी भुषालले उक्त रकम एक व्यक्तिलाई दिन भनेर पठाएका थिए । उनीहरुले सम्बन्धित व्यक्तिको खातामा पैसा जम्मा गर्न जाँदा लुटिएको भनेर नाटक गरी आफुहरुले नै बाढेर लिन खोजेका थिए ।

हुन्डीका एजेन्ट भएको अनुसन्धानमा खुलेपछि प्रहरीले भट्टराई र काफ्लेमाथि नै अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा उनीहरुबाट हुन्डी कारोबारको थप ४४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । लुटिएको भनिएको १४ लाख ५० हजार र थप ३० लाखरुपैयाँ टोखास्थित विजय चौलागाईको डेराबाट बरामद भएको थापाले जानकारी गराए । प्रहरीले उनीहरुमाथि थप कारबाही गर्न राजश्व अनुसन्धान विभागमा पठाएको छ ।

LIVE TV