३ पुष २०७४, सोमबार

काठमाडौं । सगरमाथाको उचाई नेपाल आफैंले नाप्ने भएको छ । नापी विभाग आफैंले सगरमाथाको उचाई नाप्ने भएको हो । यसका लागि झण्डै २ वर्ष लाग्ने अनुमान छ ।

२०७२ बैशाखको विनाशकारी भूकम्पले हिमालहरुको उचाई केही बढेको अध्ययनहरुले देखाएको छ । साथै नापी विभागले गरेको अध्ययनमा नै काठमाडौंको उचाई झण्डै एक मिटर बढेको देखाएपछि सगरमाथाको उचाई नाप्न खोजिएको हो । सगरमाथाको उचाई नाप्न भारतका साथै चीनले पनि चासो देखाएको थियो ।

तर, विभाग आफैंले काम गर्ने गरी आवश्यक तयारी पूरा भएको निर्देशक अनिल मरासिनीले बताएका छन् । ‘अन्तर्राष्ट्रिय विज्ञहरुसँग परामर्श गरेर उचाई मापनको कार्यविधि पनि बनाएका छौं’ उनले भने, ‘सचिवालयसमेत बनाएका छौं ।’

उनका अनुसार सगरमाथाको उचाई नाप्न विभागका ७० देखि ८० जना जनशक्ति खट्नेछ भने २ वर्ष समय लाग्ने देखिन्छ । ‘भूकम्पले लेभल लाइन नै हल्लाएको छ । त्यसैले तराई वा छिमेकी वोर्डरबाट लेभल मिलाउनुपर्छ’ मरासिनीले भने ।

सगरमाथाको शिखरमा टोली पठाउने र जीपीएस मेसिन राखेर अनुगमन गर्ने कार्ययोजना छ । यदि निजामति कर्मचारी आफैं शिखरमा जान नसक्ने अवस्था रहे शेर्पाहरुलाई तालिम लिएर उनीहरुको सहयोग लिइने विभागले जनाएको छ ।

सगरमाथाको उचाई नाप्न सरकारले चालू आर्थिक वर्षको बजेटमा २ करोड छुट्याएको छ । यो रकमले नपुग्ने भए पनि अर्थ मन्त्रालयले बजेटको अभाव हुन नदिने बचन दिएको छ ।

सन् १८५८ मा तत्कालीन ब्रिटिस सरकारको सर्बे अफ इण्डियाको टोलीले सगरमाथाको उचाई मापन गरेको थियो । त्यसबेला मापन भएको ८ हजार ८४८ मिटरलाई नै सगरमाथाको आधिकारिक मानिएको छ ।

LIVE TV