३ पुष २०७४, सोमबार

बाँके । भारतको आग्रामा कम्पनीमा मार्केटिङको काम लगाइदिन्छु भन्दै झण्डै १४ लाख रुपैयाँ ठगी गर्ने ५ जनालाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ । उनीहरुबाट ठगीएका २१ जना युवायुवतीको पनि उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पिरामिड शैलीको ठगी धन्दा सञ्चालन गर्ने बाँकेको कोहलपुर ११ का विवेक चौधरी, दाङ दंगीशरण ४ का एवन चौधरी, तुलसीपुर ७ का शान्ति चौधरी, सन्दिप चौधरी र निमा चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर बिष्टका अनुसार पक्राउ परेका ५ जनामध्ये विवेक र एवन मुख्य अभियुक्त हुन् । यसैगरी युवायुवतीलाई भारततर्फ लैजान लागिरहेका अन्य तीन जना पनि पक्राउ परेका हुन् । युवायुवतीलाई कामको प्रलोभन देखाउँदै उनीहरुले सीमापार गर्ने क्रममा प्रहरीले उद्धार गरेको हो ।

पक्राउ परेका पाँचै जनामाथि ठगी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो । पक्राउ परेका ५ जनाले दाङ, बाँकेको नेपालगन्ज र कोहलपुर तथा बर्दियाका गरी २१ जना युवा युवतीलाई भारतको आग्रामा राम्रो कम्पनीमा मार्केटिङको काममा लगाइदिन्छौ भन्दै भारततर्फ लैजान लागेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका युवायुवतीका अनुसार कम्पनीमा सदस्यहरु थप्न सके राम्रो कमाई हुन्छ भन्दै सबैलाई प्रतिव्यक्ति ६ हजार भारतीय रुपैयाँ लिएर सदस्य बनाइएको थियो । पीडित युवायुवतीसँग ताज फेसनको सदस्य बनाई कम्पनीले उत्पादन गरेको विभिन्न कपडाहरु खरिद गर्न लगाई १३ लाख ७८ हजार ४ सय ८५ रुपैयाँ लिएको पाइएको प्रहरीले जनाएको छ ।

LIVE TV