
काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका आन्तरिक उडान प्रभावित भएको छ।
बाक्लो कुइरोको कारण सिमरा, भद्रपुर, भैरहवा र धनगढीको उडान रद्द गरिएको आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख परवेज आलम सिद्दिकीले बताएका छन्। साथै गन्तव्य उडानका लागि विमानस्थल पुगेका यात्रुहरु उडान रद्द भएपछि मर्कामा परेका छन्। बुद्ध, यती, श्री लगायतका एयरलाइन्सले उडान रद्द भएकोमा यात्रुहरुसँग क्षमायाचना गरेका छन्।
विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब ५ हजार भन्दा बढी यात्रु आवतजावत गर्ने गरेका छन्।
यसैगरि आन्तरिकतर्फ हेलिकोप्टरसहित नेपाल वायुसेवा निगम, बुद्ध, यती लगायत १८ वटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन्।
अन्तर्राष्ट्रियतर्फ भने बढीमा आधा घन्टाभन्दा बढी आकाशमै अडिने होल्ड भए तापनि नियमित उडान भने भइरहेको विमानस्थलले जनाएको छ।
हाल ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । साथै मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानपख तराई क्षेत्रमा बाक्लो कुइरो लागे तापनि अपराह्नतिर सुधार आएको बताएका छन् । काठमाडौँ लगायत पूर्वी तराई भेगमा आंशिक बदली रहेको मौसमविद् शान्ति कँडेलले बताएका छन् ।
शान्ति कँडेलका अनुसार अझै केही दिन बिहान बाक्लो कुइरो लागे पनि दिउँसोतिर आंशिक बदलीको अवस्था रहने अनुमान गरेका छन् ।
आजको मौसम काठमाडौँ उपत्यकाको न्यूनतम ४/६ र अधिकतम १९ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।