३ पुष २०७४, सोमबार

श्यामशीतल परियार

यत्तिबेला लमजुङका किसानहरुलाई उत्पादित अलैँचीको गुणस्तर निर्धारण गर्न भ्याईनभ्याई छ । अलैँचीको गुणस्तर छुट्याएसंगै उनीहरुले अलैँची बिक्री समेत गर्न थालेका छन् । जिल्लामा ६० प्रतिशत बढी अलैँची बिक्री भईसकेको छ । गुणस्तर निर्धारण नगरी अलैँची बिक्री गर्दा नोक्सानी व्यहोर्नुपर्नेमा लमजुङका किसान सजग छन् ।

गुणस्तर अलैँची बेच्न सके राम्रो मूल्य पाउने र अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान स्थापित गर्न सकिने भएकाले नेपाल अलैँची व्यवसायी महासंघ लमजुङको पहलमा जिल्लाका अलैँची उत्पादक किसानहरुले अलैँचीको गुणस्तर निर्धारण गरी बिक्री गर्न थालेको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो । उहाँका अनुसार तीन किसिमले उत्पादित अलैँचीको गुणस्तर निर्धारण गरिन्छ । ठुलो दाना, नफुटेको, पुच्छर नभएको अलैँचीलाई गुणस्तरीय अलैँची मानिन्छ ।

पुच्छर नभएको, दाना मध्यम खालको भएको अलैँचीलाई ‘मिडियम साईज’मा राखिन्छ । पुच्छर भएको, टुटेफुटेको, तुलनात्मक रुपमा दाना सानो भएको अलैँचीलाई चलनचल्तीको अलैँचीको रुपमा लिईन्छ । विगतको तुलनामा जिल्लामा अलैँचीको उत्पादन घटेको र उत्पादित अलैँचीले पनि आकर्षक मूल्य नपाउँदा यहाँका अलैँची उत्पादक किसानहरुमा निराशा छाएको छ । गतवर्ष जिल्लामा ८ सय २१ क्विन्टल अलैँची उत्पादन भएको हो ।

यसवर्ष ६ सय क्वीन्टल अलैँची उत्पादन हुने अलैँची व्यवसायी महासंघ लमजुङले अनुमान गरेको छ । गतवर्षमात्रै जिल्लाका किसानहरुले गुणस्तरीय (जम्बो जेठ) अलैँची प्रतिकेजी १३ सय देखि १४ सय रुपैयाँसम्म बेचेका थिए । मध्यम खालको अलैँची प्रतिकेजी १२ सय रुपैयाँसम्म बेचेका थिए ।

चलनचल्तीको अलैँची प्रतिकेजी १ हजार रुपैयाँसम्म बिक्री गरेका थिए । तर यसवर्ष किसानले गुणस्तरीय अलैँची प्रतिकेजी ६ सय ५० देखी ७ सय, मध्यम खालको अलैँची ६ सय ३० देखी ६ सय ६० र चलनचल्तीको अलैँची ६ सय रुपैयाँमा बेच्न बाध्य छन् । जिल्लामा झण्डै १६ हजार बढि किसान अलैँची व्यवसायमा लागेका छन् ।

LIVE TV