३ पुष २०७४, सोमबार

आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी आप्रसन दिवस मनाईंदै छ ।

आप्रवासीहरुको अधिकार अनि आप्रवासनको सुरक्षित र कानुनी प्रावधानहरुको बारेमा छलफल र विमर्श गर्दै सुरक्षित आप्रवासनकाबारे जनचेतना फैलाईन्छ । पछिल्ला वर्षहरुमा आप्रवासनको समस्या बढ्दै गएको देखिएको छ । असुरक्षित तथा असहज आप्रवासनको समस्याले विश्वलाई नै चिन्तित बनाउँदै लगेको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारको संख्या पनि दैनिक बढ्दै गएको छ । सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवासुविधा, न्यूनतम् मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस विश्वभर मनाइने गरिएको हो । विश्वभर करिब २३ करोड २० लाख आप्रवासी कामदारका रुपमा रहेको र तीमध्ये एक चौथाइ मानिस एशिया तथा प्रशान्त क्षेत्रमा मात्र रहेको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको तथ्यांक छ । नेपालबाट वर्षेनी चार लाखको हाराहारीमा वैदेशिक रोजगारीमा युवा जाने गरेका छन् । विदेशमा करिब ३० लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान गरिए पनि आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन ।

LIVE TV