२ पुष २०७४, आईतवार

काठमाडौं । सरकारले लोकतन्त्रको मूल्य र मान्यताको धज्जी उडाएको बाम गठबन्धनले आरोप लगाएको छ । गठबन्धनले निर्वाचनको मतपरिणाम आएसँगै सरकार गठन प्रक्रियामा सघाउनुपर्ने समयमा राष्ट्रिय सभा सदस्य निर्वाचनको अध्यादेशलाई लिएर विवाद निकाल्दै सरकार गठन प्रक्रियामा असहयोग पु¥याएको आरोप लगाएको छ ।

आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला अभिव्यक्ति र गतिविधि लोकतन्त्रविरुद्ध भएको निष्कर्ष निकालेको छ ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्य र मान्यताविपरित प्रधानमन्त्रीबाट अभिव्यक्ति आउनु सकारात्मक नभएको बताउनुभयो । उहाँले राष्ट्रिय सभा गठनका विषयमा प्रधानमन्त्रीले पछिल्लो समय गरेको चलखेल समेत उपयुक्त नभएको बताउनुभयो ।

निर्वाचन भइसकेर जनमत प्राप्त भएको अवस्थामा संविधान मिच्न खोजेर ठुला निर्णय गर्न खोज्नु र अध्यादेशका नाममा बलजफ्ती गर्नु उचित नभएको बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहकार्यका साथ अघि बढ्नुपर्ने समयमा विवाद लिएर अघि बढ्न नहुने बताउनुभयो ।

उहाँले आर्थिक समृद्धि र विकासका लागि सबै दल एक भएर अघि बढ्नुपर्ने समय आएको बताउनुभयो । उहाँले निर्वाचन सफल पार्न प्रधानमन्त्री देउवाले खेल्नुभएको भूमिका प्रशंसनीय भएको भन्दै ठूला निर्णय नगर्न र अध्यादेशका विषयहरुमा देखिएका विवादलाई चिरेर अपजश पाउनबाट जोगिन समेत आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले नियुक्तिको विषयमा सरकारले लोभ र लालच गरेर गल्ती गर्न नहुने भन्दै जनमतको कदर गर्दै सरकार गठन प्रक्रियामा सहयोग गर्न समेत प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष दाहालले पार्टी एकता प्रक्रिया अन्तिम टुंगोमा पुगेको जनाउँदै छिट्टै दुई पार्टी एक हुने धारणा समेत व्यक्त गर्नुभयो ।

LIVE TV