२ पुष २०७४, आईतवार

मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । यसअनुसार प्रत्यक्षतर्फ १६५ मा ८० स्थान जितेको एमालेले समानुपातिकतर्फ थोरैमात्रै मतले कांग्रेसलाई उछिनेको छ ।

एमालेले ४८ हजार १ सय ८७ मतले कांग्रेसलाई उछिनेको छ । एमालेले ३१ लाख ६४ हजार ४ सय ६ मत प्राप्त गरेको छ भने कांग्रेसले ३१ लाख १७ हजार ७९ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १२ लाख ९८ हजार ३ सय ९० मत प्राप्त गरेको छ । चौथो र पाँचौँमा मधेसवादी दल बनेका छन् । चौथोमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २ सय ११ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार ३ मत प्राप्त गरेका छन् । विवेकशील साझा, नयाँ शक्ति र यसअघि संसदमा प्रतिनिधित्व गरेका कुनै पनि दलले थ्रेसहोल्ड कटाउन सकेनन् । कानुनतः थ्रेसहोल्ड पूरा गर्न कूल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्छ । विवेकशील साझाले २ लाख १२ हजार ३ सय १८ र राप्रपाले १ लाख ९६ हजार ३ सय ५४ मत हासिल गरे ।

नवौँ स्थानमा रहेको नयाँ शक्तिले ८१ हजार ५ सय ६८ मत प्राप्त गरेको छ । प्राप्त परिणामलाई सन्ट–लग मेथडमा हालेर दलहरूले प्राप्त गर्ने सिट संख्या निर्धारण गरिन्छ । हालसम्म पाँचवटा दलले मात्रै थ्रेसहोल्ड कटाउन सकेकाले आयोगले दिएको मतपरिणामलाई आधार मान्दा एमालेले समानुपातिकमा ४१ सिट पाउँछ । त्यस्तै, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र राजपा, संघीय समाजवादी फोरम, नेपालले समान ६–६ सिट पाउँछन् ।

LIVE TV