
चिली । चिलीको एक गाउँमा गएको पहिरोका कारण मृत्य हुनेको संख्या पाँच पुगेको छ । मुसलधारे वर्षासँगै गएको पहिरोका कारण चिलीको दक्षिणी क्षेत्रमा रहेको पर्यटकीय गाउँका धेरै घरमा क्षति पुगेको हो ।
लेक क्षेत्रको ग्रामीण बस्ती भिल्ला सान्ता लुसियामा पहिरोका कारण धेरै घर पुरिएको छ । यस्तै १५ जना मानिस बेपत्ता भएका छन् । चिलीका राष्ट्रपति मिशेल बाचेलेतले पहिरो प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेका छन् । लेक क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ भने सडक सञ्जाल पनि टुटेको छ । उद्दार तथा राहतको कामलाई तीब्र र प्रभावकारी बनाउन राष्ट्रपति बाचेलेतले आदेश दिएका छन् । चिलीको राजधानी सान्टियागोबाट ११ सय किलोमिटर दक्षिणमा रहेको गाउँमा पहिरोले नोक्सानी गरेको हो ।
लगातारको वर्षसँगै पहाडबाट लेदोसहितको पहिरो गएको हो । गएको २४ घण्टा भन्दा लामो समयदेखि त्यस क्षेत्रमा मुसलधारे पानी परिरहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । गाउँका केही मानिसलाई हेलिकप्टर मार्फत उद्दार गरी नजिकको बजार चाइटेन लगिएको छ । अहिले पनि उद्दार तथा हराएकाको खोजी भइरहेको छ । कोर्कोवाडो राष्ट्रिय निकुञ्ज नजिक रहेको गाउँ पर्यतकीय गन्तव्यको रुपमा रहँदै आएको छ ।