
काठमाडौं । ड्याम साइटको गेट नम्बर १ मा रहेको कंक्रिटमा समस्या देखिएपछि चमेलिया जलविद्युत आयोजनाले पूर्वनिर्धारित समयमा ‘वेट टेस्ट’ र परीक्षण उत्पादन गर्न नसकिएको हो । पानी भण्डारण हुन नसकिएपछि परीक्षण उत्पादन एक महिना पर सरेको छ ।
केही दिन त्यसको मर्मतमै बितेको आयोजनाले जानकारी दिएको छ । आयोजना प्रमुख अजय दाहालका अनुसार ड्याम साइटको १ नम्बर गेट लगाउँदा पनि पानी ‘लिकेज’को समस्या देखिएको छ । उक्त गेटको मर्मत शुक्रबार मात्रै सकिएको छ ।
१८ कात्तिकमा बाँधका गेटहरु बन्द गरेर पानी जम्मा गर्ने योजना र २६ मंसिरमा परीक्षण उत्पादन थाल्ने लक्ष्य थियो । पानी लिकेजकै कारण योजना पूरा हुन नसकेको हो ।
‘गेट निर्माण भएको लामो समयसम्म पनि आयोजना सञ्चालन हुन सकेन, जसका कारण वर्षातको पानीले गेटको कंक्रिटमा क्षती पुग्यो । अब ११ दिनपछि पानी जम्मा गर्न शुरु गर्ने योजनामा छौं,’ आयोजना प्रमुख दाहालले बताए।