१ पुष २०७४, शनिबार

राजधानीमा लामो समयदेखि डलर सटहीको नाममा ठगीमा संलग्न दुई युवक पक्राउ परेका छन् ।
उदयपुर जिल्ला पद्मावति–४ घर भई ललितपुर धापाखेल बस्ने २४ बर्षीय चन्द्र बहादुर मगर र धादिङ ढुवाकोट घर भई ललितपुर सातदोबाटो बस्ने २१ बर्षीय मिलन दाहाललाई महानगरीय प्रहरी वृत्त कालिमाटीले शुक्रबार पक्राउ गरेको हो ।

उनीहरुले मंसिर ११ गते सिन्धुली झागाझोली रातामाटे–१ घर भएका २० बर्षीय हेमन्त पुरीलाई सस्तोमा डलर साटिदिने भन्दै्र २ लाख ३९ हजार रुपैयाँ ठगी गरेका थिए । ८४ रुपैयाँका दरले डलर सटही गर्ने भन्दै कुलेश्वर गणेश मन्दिर नजिक सुकुम्बासी बस्ती छेउमा बोलाएर डलर भन्दै कागजको पोको दिएर ठगेका हुन् ।

३ हजार डलर रहेको भन्दै रुमालले बाँधेर डलरकै आकारका कागजका टुक्राहरु दिएका थिए । गोप्य रुपमा साट्नुपर्ने भन्दै एकान्तमा बोलाएर पोको घरमा गएर खोल्न भन्दै पैसा लिएर भागेका थिए । पछि पोको खोल्दा कागजको टुक्रा मात्र भएपछि पीडितले प्रहरीमा उजुरी गरेका हुन् । १२ दिन लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले बताए ।

प्रहरीका अनुसार उनीहरुबीच केही समयअघि दरबारमार्गमा चिनजान भएको थियो । मगरले आफु बिदेशबाट आएको र धेरै डलर भएकाले सस्तोमा साटिदिने आश्वासन दिएका थिए । ५ डलर सक्कली नै साटिदिएका थिए । थप साट्न कुलेश्वर बोलाएर ठगी गरेका हुन् । पैसा लिएर गएपछि मोबाइल स्वीच अफ गरेर भागेका थिए ।

LIVE TV