१ पुष २०७४, शनिबार
  • हरिकृष्ण गौतम

म्याग्दी । म्याग्दी खोलामा इनार बनाएर आधुनिक उपकरणको प्रयोग गरि बेनी नगरपालिका–२ ज्यामरूककोटमा रहेको सिँचाईको समस्या समाधान गर्न स्थानीयवासी सक्रिय भएका छन् । तरकारी खेतीमा सक्रिय रहेका स्थानीयले सिँचाईका लागि प्रयोग गरिएका पानीको मुहान सुक्न थालेपछि जिल्लामै पहिलोपटक आधुनिक प्रविधिको प्रयोग गरि लिफ्ट सिँचाईको निर्माण गरेका हुन ।

राधाकृष्ण कृषि सहकारी संस्थाको सक्रियतामा जिल्ला कृषि विकास कार्यालयको १० लाख अनुदान तथा जनश्रमदानमा यो लिफ्ट सिँचाई सम्भव तुल्याइएको हो । बेनी नगरपालिका –२ हाँडेभीरमा म्याग्दी खोलामा बगिरहेको पानीलाई खोला नजिक बनाइएको पक्की इनारमा पानी तान्ने उपकरण जडान गरी अग्लो स्थानमा रहेको खवरा, पिपलडाँडासम्म ५ सय ५० मिटर पाईपबाट पानी पु¥याउन सफल भएको लिफ्ट सिचाई निर्माण समितिका अध्यक्ष चन्द्र बहादुर कार्कीले बताउनु भयो ।

तरकारी खेतीको सम्भावना रहेको गाउँमा सिँचाईको अभावका कारण लक्ष्य अनुसारको उत्पादन हुन नसकेको अवस्थामा कृषि कार्यालयबाट १० लाख, स्थानीयबासीको चन्दा र जनश्रमदान गरी करिव १७ लाखको लगानी पुगेको बताए । जिल्लामा पहिलोपटक प्रयोग गरिएको आधुनिक प्रविधिको लिफ्टबाट जंगलमा जमिनमुनी र रूखको प्रयोग गरी गाउँसम्म पाईप जडान गरिएको बताउँदै खडेरीमा खेतबारी बाँझो रहने समस्या समाधान हुने भन्दै स्थानीयवासी खुसी देखिएका छन् ।

सिँचाई आयोजनालाई तीब्रता दिन स्थानीय यूवाले दैनिक श्रमदान समेत गर्ने गरेका छन् । खोला नजिक विद्युतीय लिफ्टका लागि थ्रि फेज विद्युत मिटर जडान गरिएको छ । खोलादेखि डाँडामा पानी चढाउन प्रयोग गरिएका मेसिनहरू अत्याधुनिक भएकाले पनि प्रतिघण्टा पानी सङ्कलनका लागि बनाइएको पोखरीमा आवश्यकता अनुसार पानी जम्मा गरिन्छ । प्रारम्भीक विवरण अनुसार ट्यांकीमा लगातार १२ घण्टासम्म पानी चढाउन सकिन्छ । सिँचाईले तत्काल ४० घर लाभान्वित हुनेछन् ।

LIVE TV