१ पुष २०७४, शनिबार

नुवाकोट । चीनसँगको नाका रसुवागढी जोड्ने सडक निर्माणका लागि गल्छीबाट पिपलटारसम्मको सडक दैनिक ८ घण्टा बन्द हुन सुरु भएको छ । त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीब्रता दिने भन्दै शनिबारदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीबाट पिपलटारसम्मको सडक बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सडक बन्द गरी निर्माण कार्यलाई अघि बढाउने निर्णय गरेको हो । अब तीन महिनासम्म दैनिक ८ घण्टा सडक बन्द गरी कामलाई तीब्रता दिने तयारी गरेको आयोजनाका प्रमुख सुवोधकुमार देवकोटाले बताए । धादिङको गल्छीबाट रसुवाको स्याफ्रुवेशीसम्म ८२ किलोमिटर सडकमध्ये ४६ किलोमिटर क्षेत्र स्तरोन्नतीको काम भइरहेको छ । ९ अर्ब लगानी रहेको योजना अन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ ।

उत्तर–दक्षिण जोड्ने छोटो नाकाको रुपमा रहेको यो सडक विस्तारलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पुस १ गतेदेखि फागुन मसान्तसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पिपलटारबाट गल्छीसम्म बाटो पूर्णरुपमा बन्द हुने आयोजना प्रमुख देवकोटाले बताए । यस अबधीमा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरिएको छ ।

LIVE TV