
प्रतिनिधिसभा र प्रदेशसभामा हार व्यहोरेको नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय समिति बैठकका लागि प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले छलफल थाल्नुभएको बताइएको छ ।
केन्द्रीय समितिको बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ । कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र प्रदेश सभामा ४१ सिट जित्दै तेस्रो पार्टी बनेको छ । तर, समानुपातिकतर्फ ल्याएको मतले आउने सिट जोड्दा भने कांग्रेस दोस्रोमा उक्लनेछ ।
सभापति देउवाले समानुपातिकतर्फको नतिजा सार्वजनिक भए लगतै बैठक बोलाउने तयारी गर्नुभएको उहाँको निजि सचिवालयले जनाएको छ ।
पार्टीको निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले समानुपातिकतर्फको नतिजा सार्वजनिक भएपछि निर्वाचन समीक्षा र आगामी रणनीति तय गर्न केन्द्रीय समिति बैठक बस्ने सक्ने जानकारी दिनुभयो ।
निर्वाचनमा जनताले दिएको म्यान्डेटअनुरूप कांग्रेसले अब संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह नेताहरुले बताएका छन् । यसैबीच कांग्रेसमा महासमिति बैठक बोलाउन नेतृत्वमाथि दबाब सुरु भएको छ ।