
अर्घाखाँची । न कुनै बाजागाजा, न त पार्टी प्यालेसमा भोजभतेर। बेहुला र बेहुली बिहेको वेशभूषामा मात्र थिए। अरु कुनै तामझाम थिएन। जहाँ दुलहादुलहीका आफन्त, गाउँले र केही साथी मात्र थिए।
दाइजो र गरगहनाबिना नै अर्घाखाँची केरुंगाकी शान्ता पौडेल र अर्घाखाँची बांगलाकै विजय भट्टराईबीच शुक्रबार विवाह भइरहेको थियो। उनीहरुले विवाहमा हुने खर्च बचाएर बाढीपीडितलाई रु ५० हजार हस्तान्तरण गरेका छन्।
दाइजो प्रथाबाट भइरहेको विकृति न्युनीकरणका लागि सन्देश हुन सक्छ भनेर यस्तो विवाह गरिएको बेहुला विजयले बताए।
‘दाइजोका कारण दिनहुँजसो चेलीले समस्या भोग्नुपरेको छ,’ बेहुली शान्ताले भनिन्, ‘दाइजो प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिनकै लागि यस खालको विवाह गरेका हौं।’