१ पुष २०७४, शनिबार

बसन्त लिम्बु

ताप्लेजुङ । हिमाली तथा पहाडी जिल्लामा खोल्सामा फल्ने ‘कालो सुन’ का नामले चिनिएको अलैंचीबाट किसानहरुले फाइदै–फाइदा लिन थालेका छन् । अलैंचीको फलबाट गतिलो आम्दानी गर्न सकिन्छ भनेर त सबैलाई जानकारी छँदैछ तर, अलैंचीको बोट (रेसा) बाट समेत राम्रो आम्दानी गर्न सकिन्छ भन्नेमा कमैलाई मात्र जानकारी हुनसक्छ । तर ताप्लेजुङका किसानहरुले भने अलैँचीको रेसावाट समेत हस्तकलाका सामग्री निमार्ण गरि राम्रो आम्दानी गर्न थालेका छन् ।

यतिबेला ताप्लेजुङका स्थानीयले अलैंचीको बोटलाई पनि आम्दानीको स्रोत बनाउन थालेका छन् । अलैंचीको बोटमा हुने रेसाबाट विभिन्न सामग्री उत्पादन गर्ने उद्योगहरु नै सञ्चालनमा आएका छन् । केही समय अघिदेखि सदरमुकाम फुङ्लिङमा स्थापित चन्दन फाइबर उद्योगले हाल व्यवसायिक रुपमा अलैंचीको रेसाबाट विभिन्न सामग्री उत्पादन गरी राम्रो आम्दानी लिँदै आएको छ । छ वर्ष अघि उद्योग स्थापना गरेर वार्षिक पाँच देखि सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको गुरुङले बताउनुभयो । गुरुङका अनुसार जेन्स पर्स, लेडिज साइड ब्याग, हट म्याट, डोर म्याट, रुम म्याट, टी म्याट लगायतका सामग्री उद्योगबाट उत्पादन हुँदै आएको छ ।त्यसै खेर गैरहेको अलैचीको सरावाट यस्ता सामग्री उत्पादनको लागि उहाँको उद्योगमा ५ जनाले रोजगारी समेत पाएका छन् । घरायसी सवै काम गरेर पनि फुर्सदको समयमा यस्ता सामग्री उत्पादनको काम गरेर राम्रो फाईदा लिने गरेका छन् । साथै यसैलाई प्राथमिकता दिएर काम गरे धेरै फाईदा हुने गुरुङको भनाई छ ।

उद्योग सञ्चालनका लागि पहिलो आर्थिक र दोस्रोमा दक्ष सीपवाला जनशक्ति तथा उचित प्रविधिकोे अभाव रहेको गुरुङको भनाई छ । यदि प्रविधि र सिपको विकास गर्न सकिने स्थानीयको भनाई छ । यस व्यवसायमा इच्छा हुँदाहुँदै पनि सीप र ज्ञानको अभावले नागरिक वा व्यवसायीको कम आकर्षण देखिन्छ भने प्राविधिक ज्ञान र सीपको तालिम पाए प्रशस्तै खेर गइरहेको अलैंचीको बोटलाई राम्रो आम्दानीको स्रोत बनाउन सकिने अगुवा किसानहरुको भनाई छ ।

LIVE TV