
सुनसरीको इटहरीमा स्थानीयले सडकमा सार्वजनिक होम लगाएका छन् । कोसी राजमार्ग अन्तर्गतको इटहरी–धरान सडक खण्डको हलगडा क्षेत्रमा बढ्दो सवारी दुर्घटनामा कमी होस् भन्ने कामना गर्दै बिहीबार इटहरीवासीले हिन्दू परम्पराअनुसार सडकमा होम लगाएका हुन्।
स्थानीयले सडक दुर्घटना न्यूनीकरणको कामना गर्दै भाकलसहित सडकमा नै होम लगाएको स्थानीय विक्रम दाहालले जानकारी दिए। केही वर्षअघि पनि त्यस क्षेत्रमा सवारी दुर्घटना बढ्न थालेपछि स्थानीयवासीले होम लगाएका थिए। त्यतिवेला होम लगाएपछि सवारी दुर्घटनामा कमी आएकोले यसपटक पनि सोही विश्वासले होम गर्नुपरेको दाहालले बताए।
सडकमा तीव्र गतिमा गुड्ने सवारीको गति नियन्त्रण नहुनु तथा साँघुरो सडकका कारण सो क्षेत्रमा दुर्घटना बढेको छ। सो क्षेत्रमा सवारी दुर्घटनामा परेर मृत्यु भएका सर्वसाधारणको आत्म चीर शान्तिको कामना गर्नका लागि पनि होम गरिएको स्थानीय टोल विकास संस्थाका सदस्यहरुको भनाइ छ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सो क्षेत्रमा मंसिर महिनामा मात्रै एक दर्जन सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा चार जनाको ज्यान गएको थियो।
स्थानीयले देवीदेवता गुहार्दै इटहरीको वडा नम्बर १ र ४ को बीचमा पर्ने हलगडा क्षेत्रमा होम लगाएका हुन। स्वस्ती शान्ति सहितको होम गर्नाले सवारी दुर्घटनामा कमी आउने स्थानीयवासीको विश्वास रहेको छ।