२९ मंसिर २०७४, शुक्रबार

काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएपछि मतपरिणामको घोषणा गर्न राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कानून अपरिहार्य भएको जनाएको छ । आयोगले दलहरूले प्राप्त गरेको मत प्रतिशतका आधारमा सिट निर्धारण गर्नुपर्ने निर्वाचन आयोगले महिला कोटाको सिट संख्या तोक्न राष्ट्रिय सभाको परिणाम हेर्नुपर्ने भएकाले राष्ट्रिय सभा कानूनको आवश्यकता रहेको जनाएको हो ।

संविधान र कानुनअनुसार प्रतिनिधिसभाको समानुपातिक कोटामा सिट प्राप्त गर्ने दलले प्रतिनिधित्व गराउनुपर्ने महिला सिट संख्या तय गर्न राष्ट्रिय सभाको परिणाम आवश्यक पर्ने आयोगको भनाई छ । कानून अभावका कारण अन्तिम परिणाम घोषणा गर्न समस्या हुने भन्दै राजनीतिक दल र सरकारलाई सहमति जुटाउन समेत आग्रह गरेको छ । संघीय संसदमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र राष्ट्रिय सभामा अपुग हुने संख्या प्रतिनिधिसभाको समानुपातिक कोटाबाट क्षतिपूर्ति दिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर, त्यसका लागि राष्ट्रिय सभा गठन गर्नुपर्ने भएकाले अध्यादेश प्रमाणीकरण महत्वपूर्ण मानिएको छ ।

आयोगले सरकारलाई राष्ट्रिय सभा गठनको कानून पारित गर्न आग्रह गरेपनि बहुमतीय वा एकल प्रक्रिया भन्ने विवादका कारण विधेयक अड्किएको छ । यता, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटमा विवाद मिलाउन राष्ट्रपतिले आग्रह गरेपनि प्रधानमन्त्री देउवाले विधेयक प्रमाणीकरण गर्नुपर्ने अडान राखेपछि सरकार गठनदेखि निर्वाचन परिणाम घोषणासम्म असर पुगेको छ ।

LIVE TV