२८ मंसिर २०७४, बिहीबार

 

वास्तवमा नियतिले ठगेको छ, फरक क्षमता भएका व्यक्तिहरुलाई । गगनचुम्बी भवन, सपिङमल बनिरहँदा कुनैपनि क्षेत्र फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित गरि नबनाइदा नियतिले नै ठगीरहेको जस्तो महसुस उनीहरुले गर्न थालेका छन् । निर्माणाधीन आकाशे पुल, सडक अपाङ्गमैत्री नहुँदा दैनिक जीवनमा समस्या भोग्दै आएका फरक क्षमता भएका व्यक्तिहरु गुनासो गर्ने ठाउँ समेत नहुँदा दिक्क र चिन्तित भएका छन् ।

सामान्य व्यक्तिलाई काठमाडौंको विभिन्न स्थानमा आवतजावत गर्न नै समस्या हुँदै गर्दा फरक क्षमता भएका व्यक्तिहरुलाई हुने समस्याको चाङ छ । अस्तव्यस्त सडक, जीर्ण आकाशेपुलको यात्राले सामान्य व्यक्तिलाई नै असर पार्दा उनीहरुको व्यथा कम छैन । सरकारी तवरबाट होस् वा विभिन्न संघसंस्था, सबैले अपाङ्गमैत्री संरचनाको नारा घन्काएपनि त्यो नारामा मात्रै सीमित भएको छ ।

सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाले भत्काएको सडकको संरचनाले सडकमा बनेका खाल्डा र अस्तव्यस्त सडकले फरक क्षमता भएका ब्यत्तिहरुलाई दैनिकी नै संचालन गर्न कठिन परेको छ । अपाङ्गमैत्री सडक निर्माण भएपनि त्यसको उचित संरक्षण नहुुनुले थप समस्या निम्त्याएको छ, उनीहरुलाई । ह्वीलचियरको सहयोगमा यात्रा गर्नेहरुलाई आकाशेपुल, भवन, सार्वजनिक सवारी साधन, शौचालय लगायतका क्षेत्रमा सहयोग नपुग्दा उनीहरुको दुःख ज्वालामूखी झै विस्फोट भएको छ ।

निर्माणधीन सडकहरुमा मात्र नभई निर्माण सकेका कतिपय सडकहरु समेत अपाङ्गमैत्री नभएका कारण पटक पटक दुर्घटनामा पर्नुृ परेको उनीहरुको गुनासो छ । सरकारले निर्माण गर्ने पूर्वाधार नै उनीहरुको लागि उपहार नबन्दा त्यो भन्दा ठूलो पीडा उनीहरुमा अरु छैन । सडकमा भोग्नुपर्ने समस्याको लेखाजोखा गर्न नमिल्ने बताउने उनीहरु सरकारबाट उचित संरक्षण र सहयोगको अपेक्षामा छन् । सरकारले पनि उनीहको मागलाई ध्यानमा राखेर थोरै केही काम गरे उनीहरुको पीडा पक्कै पनि कम हुने थियो ।

 

LIVE TV