
समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधित्वका लागि दलहरुले ल्याउनुपर्ने न्यूनतम मतको सीमा अर्थात् थ्रेसहोल्डको व्यवस्थापछि अब बन्ने संसदमा दलहरुको संख्या घट्ने देखिएको छ । यसले संसदभित्र साना दलहरुमाझ देखिँदै आएको फुटको श्रृंखला बन्द हुने अपेक्षा गरिएको छ ।
न्यूनतम मत सीमा वा थ्रेसहोल्डमा व्यवस्था गरिए अनुसार समानुपातिक तर्फ सदर भएको मतको कम्तीमा ३ प्रतिशत ल्याउने दल मात्र संघीय संसदमा उपस्थित हुनेछन् ।
यसपटक ८८ दलले निर्वाचनमा भाग लिएका थिए । प्रत्यक्ष तर्फको सबै नतिजा आइसक्दा केवल ९ वटा दलले मात्र कम्तीमा एक सिट जितेका छन् । साथै एकजना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् । समानुपातिकतर्फ ५ दलले थ्रेसहोल्ड कटाइसकेका छन् भने अन्य केहीले त्यसका लागि संघर्ष गरिरहेका छन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा थ्रेसहोल्ड नराख्दा साना ठूला गरी ३१ दलले व्यवस्थापिकामा प्रतिनिधित्व गरेका थिए ।