२७ मंसिर २०७४, बुधबार

लमजुङ । पछिल्लो समय कोदो खेतीप्रति लमजुङका किसानको आकर्षण घट्दै गएको छ । कोदोको महत्व थाहा नहुँदा पनि यसको खेतीप्रतिको आकर्षण घट्दै गएको हो । खेती नलगाउँदा गाउँघरका अधिकांश जग्गा बाँझै छन् । गाउँमा खेतीपाती गर्ने किसानहरु समेत छैनन् । युवाशक्ति विदेश पलायन भएको छ । गर्न सक्ने शहरबजार केन्द्रित भएका छन् । गाउँघरमा काम गर्न नसक्ने वृद्धवृद्धाहरु मात्र हुँदा खेतबारी बाँझै बस्न थालेको छ ।

कोदो

 

लमजुङमा केही समयअघि कोदोको प्रशस्तै खेती गरिन्थ्यो । मकै, कोदोको ढिँडोफाँडो खाने चलन थियो । तर पछिल्लो समय जिल्लाका किसानले कोदो खेती गर्न छाडेका छन् । उत्पादित कोदो पनि खाद्यान्नको रुपमा भन्दा पनि घरेलु मदिरा बनाउनमा बढी प्रयोग हुन थालेको छ ।

लमजुङकोे ईलमपोखरी, नौथर, पाचोक, गौँडा, नाल्मा लगायतका अधिकांश पाखो ठाउँमा कोदोको खेती हुँदै आएको छ । पुरानै बीउ र परम्परागत रुपमा कोदो खेती गर्नाले पनि लमजुङमा तुलनात्मक रुपमा कोदोको उत्पादन बढ्न नसकेको जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारी बताउनु हुन्छ । पछिल्लो समय शहरबजारका मान्छेले कोदोको ढिँडो खान थालेका छन् ।

तर गाउँघरका मान्छेले खासै कोदोको ढिँडो खान भने छाडेका छन् । विशेषगरी कोदो घरेलु मदिरा बनाउनमा प्रयोग हुन थालेको छ । कतिपयले कोदो बेचेर चामल किनेर खाना समेत गरेका छन् । मकै, कोदोको ढिँडोफाँडोले सास धान्ने कुनै जमाना थियो भन्ने कुरा त नयाँ पुस्तालाई दन्ते कथाझैँ लाग्न सक्ने पुराना पुस्ता बताउँछन् । यो उमेरमा पनि आफुले कोदोको खेती गर्दै आएको सुन्दरबजार नगरपालिका–६, एैशेलुचौरकी वृद्धा पूर्णिमाया परियार बताउनु हुन्छ ।

उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि कोदोका परिकारले बढी हित गर्छ । स्वास्थ्यका दृष्टिकोणले पनि कोदोको उपयोग लाभदायक मानिन्छ ।

LIVE TV