२७ मंसिर २०७४, बुधबार
  • तारा आचार्य,

मोरङ  ।  सर्वसाधारण नेपालीहरुलाई कौन बनेगा करोडपतिको २५ लाख भारतीय रुपैया चिठ्ठा प¥यो भनेर ठगी गर्नेहरुलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । उनीहरुले भारत, पाकिस्तान र दुबईबाट टेलिफोन तथा भाइबर मार्फत फोन गरेर ठग्ने र सर्वसाधारणको पैसा हुण्डी गरेर विभिन्न देशमा पठाउने गरेका थिए ।

मोरङ प्रहरीले एक जना भारतीयसहित ७ जनालाई करिब ८६ लाख रुपैयाँसहित पक्राउ गरेपछि ठगी मुद्दा चलाएकोमा जिल्ला न्यायाधीश महेन्द्र पोखरेलको एकल इजलासले विमलकुमार चिरानियालाई साढे ३ लाख धरौटीमा छोडेको छ भने बाँकीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

पीडितहरुको उजुरीका आधारमा मंसिर १ गते विराटनगर वडा नंं. ७ का अनुप सेठिया, ललित सेठिया, विमल कुमार चिरानिया र भारत दरभंगाका पंकज कर्ण तथा श्रवण कुमार साह, दुहबी ६ का बलराम विश्वास र सन्नी देओल विश्वासलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका अनुप सेठिया, ललित सेठिया, विमल कुमार चिरानिया र पंकज कर्ण गरी ४ जनालाई भने सम्पत्ति शुद्धिकरण अन्तर्गत समेत मुद्दा चलाइएको छ । प्रहरीले हुण्डीको कारोबार समेत देखिएकाले केन्द्रीय अनुसन्धान व्युरोबाट विशेषज्ञ मगाएर अनुसन्धान गरेको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

फोन र भाइबर मार्फत ठगी गर्ने कार्य अत्याधिक बढेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई चिठ्ठा परेको भन्दै विदेशबाट आउने फोन नम्बर टिपाउन सार्वजनिक अनुरोध गरेको थियो ।

LIVE TV