२७ मंसिर २०७४, बुधबार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लामा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जम्मा ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यसरी हेर्दा प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ १७ प्रतिशत मत बदर भएको देखाउँछ ।”

यस्तै प्रदेशसभा सदस्य (क) का लागि समानुपातिकतर्फ ३७ हजार ९७९ मत खसेकामा नौ हजार ९४ मत बदर भएको छ भने प्रदेशसभा (ख) मा समानुपातिकतर्फ खसेको कूल ३६ हजार ७९६ मतमध्ये आठ हजार ८४२ मत बदर भएको छ ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा पनि जिल्लामा १२ हजारभन्दा बढी मत बदर भएको छ । सो निर्वाचनमा ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसरी हेर्दा बैतडीमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९.२६ प्रतिशत मत बदर भएको छ ।

यस्तै प्रदेशसभामा (क) क्षेत्रमा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ (८.२४ प्रतिशत) मत बदर भएको छ । प्रदेशसभा (ख) क्षेत्रमा ३८ हजार १५५ मत खसेकामा दुई हजार ५९० (६.७७ प्रतिशत)मत बदर भएको छ । समग्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभामा कूल खसेको मतमध्ये ८.९ प्रतिशत मत बदर भएको हो ।

 

LIVE TV