२७ मंसिर २०७४, बुधबार

पर्सा । मतदाता शिक्षाको कमीका कारण पर्सामा १० प्रतिशत भन्दा बढी मत बदर भएको छ । निर्वाचन आयोग तथा राजनीतिक दलले मतदातालाई मतदानबारे जानकारी दिन नसकेका कारण पर्साबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ १० दशमलव ०९ प्रतिशत मत बदर भएको हो ।

चार निर्वाचन क्षेत्र रहेको पर्सामा २ लाख ६ हजार ४७२ मत खसेको थियो । तीमध्ये २० हजार ८३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राजनीतिक दलका नेता कार्यकर्ताले मतदातालाई मतदान बारे जानकारी नगराएको र तीनवटा मत पत्रका कारण मतदाता अलमलमा परेकाले बदर मतको संख्या बढी भएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

एउटै मतपत्रमा चारवटासम्म स्वस्तिक छाप लगाएको मतपत्र मतगणनाका क्रममा भेटिनुले पनि मतदाता शिक्षाको कमि देखिएको छ, उनले भने– प्रत्यक्षको मतपत्र समानुपातिकको मतपेटिकाबाट पनि फेला परेको अवस्था छ ।

पर्सामा मतदाता शिक्षा कार्यक्रमका लागि रु ३६ लाख खर्च गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो । उनले पर्साको चार निर्वाचन क्षेत्रका लागि ३५१ जना मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षित गर्दा ३५ लाख र सञ्चार माध्यमका लागि एक लाख खर्च गरिएको बताए ।

कूल ७१ दशमलव ४२ प्रतिशत मतदान भएको पर्सामा राजनीतिक दल तथा निर्वाचन कार्यालयको कमजोरीकै कारण २० हजार भन्दा बढीे मत सदुपयोग हुन सकेको छैन् ।

LIVE TV