२७ मंसिर २०७४, बुधबार

सामाजिक सञ्जाल फेसबुकमा कुराकानी हुँदै गहिरो प्रेम पश्चात नायिका रीमा विश्वकर्माले २०७२ साल असोज १० गते काठमाडौंको सबैभन्दा महंगो पाँच तारे होटल हायतमा भेरी जोन नामक एक अमेरिकन टेलिकम कम्पनीको यूके शाखामा फाइनान्स म्यानेजरका रूपमा कार्यरत रोबर्ट विश्वकर्मासँग विवाह बन्धनमा बाँधिइन् ।

रोबर्ट यूकेमा बसोबास गर्ने भएका कारण रीमा पनि विवाह पश्चात प्रायः श्रीमानलाई भेट गर्न पुगिरहेकी हुन्थिन् । केही वर्षको सुमधुर सम्बन्धपछि अन्ततः यो जोडीको डिभोर्स भएको छ । तर, यसविषयमा कुनै पनि औपचारिक जानकारी भने प्राप्त भएको छैन । रीमासँग डिभोर्स गरेपछि मोरङकी वर्षा रसाइलीसँग रोबर्टले इन्गेजमेन्ट गरेका छन्, जुन तश्वीर यतिबेला सामाजिक सञ्जालमा खुब भाइरल भएको छ ।

बैबाहिक जीवनमा बाँधिएपछि फेसबुक र इन्स्टाग्राममा रीमाले श्रीमानसँगका तश्वीर दैनिकजसो नै अपलोड गर्ने गर्थिन् तर पछिल्लो केही महिनायता उनको फेसबुक होस् वा इन्स्टा काहिं पनि रोबर्टसँगका तश्वीर भेटिन्नन् । बरु उनले विवाहका तश्वीरहरु समेत फेसबुक र इन्स्टाग्रामबाट डिलिट गरिसकेकी छिन् ।

रीमा म्यूजिक भिडियोसँगै एपीवानले सञ्चालन गरेको ‘नेपाल आइडल’मा व्यस्त भएपछि उनको श्रीमानसँग सम्बन्ध चिसिँदै गएको स्रोत बताउँछ । खबरअनुसार, यी दुईले आपसी सहमतीमै केही हप्ता अगाडि डिभोर्स गरिसकेका छन् ।

रोबर्टले रीमासँग डिभोर्स लगत्तै बर्षासँग इन्गेज्मेन्ट गरेका हुन् । बर्षा र रोबर्टको विवाहको मिति भने बाहिर आएको छैन । बर्षासँग टिकाटालो लगत्तै रोबर्ट यूके उडिसकेका छन् ।

रोबर्टले अर्की युवतीसँग टिकाटालो गरेको खबर सार्वजनिक भएपछि रीमाले फेसबुकमा एक स्टाटस लेख्दै घुमाउरो शैलीमा रोबर्टसँग आफ्नो सम्बन्ध टुंगिएको बताएकी छिन् । उनले जिन्दगी सधै सोचे जस्तो नहुने भन्दै तत्काल यस विषयमा आफू कुनै पनि प्रश्नको उत्तर दिन असमर्थ रहेको उल्लेख गरेकी छिन् ।

‘म सम्बन्धि आएका समाचारहरु मैले हेरिरहेकी छु। म अनि मेरो परिवारको लागि यो त्यति सजिलो समय होइन । तर पनि मेरा मिडियाका साथीहरु, शुभेक्क्षुकहरु अनि मेरा आफन्तहरु जसले मलाई सधैं नै माया अनि सम्मान दिनुभएको छ । यहाँहरुले म प्रति देखाउनुभएको सद्भावप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो असहज परिस्थितिमा म यहाँहरु समक्ष केही पनि कुराहरु राख्न वा केही पनि प्रश्नको उत्तर दिन असमर्थ छु।

यति बेला मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारको लागि केही समय दिनुहुनेछ भन्ने मलाई पुर्ण विश्वास छ। जिन्दगी सधै सोचे जस्तो त पक्कै हुँदैन र समय सधै एकनास पनि हुँदैन । यो गाह्रो क्षण पनि पक्कै वितेर जानेछ। मेरो कोहिं प्रति पनि केही गुनासो छैन । यो असहज घडीमा पनि मेरो साथमा रहनुभएकोमा म अनि मेरो परिवार यहाँहरु प्रति कृतज्ञता व्यक्त गर्छौं ।’ उनले फेसबुकमा लेखेकी छिन् ।

LIVE TV