२७ मंसिर २०७४, बुधबार

बसन्त खतिवडा

पर्सा । दुई नम्बर प्रदेशको केन्द्रबिन्दु र औधोगिक नगरीको नामले चिनिएको पर्सा जिल्लामा यसपटकको निर्वाचनमा मधेस केन्द्रित दलहरुले वर्चश्व कायम गरेका छन् । काँग्रेस र एमालेको वर्चश्व रहदै आएको पर्सामा यसपटक सबै चार निर्वाचन क्षेत्रमा मधेसी गठबन्धनले कब्जा जमाएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार पर्साका चार प्रतिनिधिसभा क्षेत्रहरु मध्ये संघीय समाजवादी फोरम नेपालले तीन स्थान र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेस र एमालेको गढ मानिने पर्सा जिल्लाको चारवटै क्षेत्रमा मधेसी गठबन्धनले कांग्रेस र बाम गठबन्धनलाई नराम्रोसंग पराजित गरेको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष समेत रहेका प्रदीप यादव विजयी भएका छन् । त्यस्तै पर्सा निर्वाचन क्षेत्र २ मा पनि फोरम नेपालका वरिष्ठ नेता एवम् वीरगंज नगरपालिकाकाको ४ पटक नगर प्रमुख रहिसकेका विमलप्रसाद श्रीवास्तव विजयी भए । त्यसैगरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य पदमा पनि फोरम नेपालका हरिनारायण प्रसाद रौनियारले दुई पुर्व सासंदलाई पराजित गर्दै निर्वाचित भएका छन् ।

यस्तै पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य पदमा भने राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का वरिष्ठ नेता लक्ष्मणलाल कर्ण निर्वाचित भएका छन् । पर्सामा निर्वाचित प्रतिनिधिसभा एवं प्रदेश सभामा निर्वाचित सवै नयाँ अनुहार हुन । बाम गठबन्धन र काँग्रेसले पुरानै उम्मेदवारलाई प्रतिष्पर्धामा ल्याएपछि मधेस केन्द्रित दलले नयाँ अनुहार ल्याएका कारण पर्सामा मधेशबादी दलको विजय भएको नागरिक समाज पर्साका संयोजक दिपक शाक्यको भनाई छ ।

पहिलो संविधान सभा २०६४ मा जित्नेहरू ०७० दोहोरिएनन् । ०७० चुनाव जित्ने यसपटक पनि दोहोरिएनन । यो शृंखलालाई हेर्दा नागरिकले नयाँ अनुहारलाई रोजेको र विश्वास गरेको देखिएको छ ।

जनताले सोचे अनुसार जनप्रतिनिधिहरु क्रियाशील नभएकाले नयाँ विकल्पको खोजी गर्ने गरेको नागरिक अगुवाहरुको भनाई छ । नेपालमा भईरहेको राजनितिक अस्थिरता लगायतका विभिन्न कारणले जनताले नयाँ अनुहार तथा पार्टी रोज्ने गर्दछ ।

LIVE TV