२७ मंसिर २०७४, बुधबार

काठमाडौँ। प्रदेशको राजधानी कहाँ बनाउने चर्चा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्नसँगै सुरु भएको छ । सरकारीस्तरबाट पनि यसको गृहकार्य भइरहेका  छन् ।

प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयलाई चुनावमा उम्मेदवारले चुनावी एजेन्डा बनाएका थिए । उम्मेदवारले आ–आफ्नो अनुकूल राजधानी बनाउने ठाउँ तोकेर नै प्रचार गरी मतदाता तान्ने प्रयास गरेका थिए ।

सातवटा प्रदेशका लागि सातवटा राजधानी चाहिन्छ तर प्रदेश सभा सदस्य चुनिएर आइसक्दा पनि राजधानीको टुङ्गो भने लागेको छैन । प्रदेशको राजधानी कहाँ राख्ने भनेर सरकारी स्तर र राजनीतिक दलबाट विभिन्न विकल्प प्रस्तुत पनि भएका छन् ।

सरकारले नै प्रस्तुत गरेको एउटा प्रतिवेदन अनुसार प्रदेश २ का लागि जनकपुर, प्रदेश ४ का लागि पोखरा र प्रदेश ६ का लागि सुर्खेत राजधानी तोक्नु बाहेक अरू प्रदेशका लागि विकल्प प्रस्तुत गरेको छ ।

प्रदेश १ का लागि विराटनगर, धनकुटा र इटहरी, प्रदेश ३ का लागि काठमाडौँ, बनेपा, चितवन, धुलिखेल र हेटौंडा, प्रदेश ५ का लागि तुल्सीपुर, दाङ र बुटवल र प्रदेश ७ का लागि धनगढी र दिपायललाई विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।(गोरखापत्र )

 

LIVE TV