२६ मंसिर २०७४, मंगलवार

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब छिट्टै आफ्नो पार्टी र नेकपा माओवादी केन्द्र बीच एकता हुने बताएका छन् । शङ्खरापुर नगरपालिकाका विभिन्न वडा तथा त्यस आसपास क्षेत्रका स्थानीयवासीसँग आज भेटघाटपछि साँखुमा आयोजित सभामा उनले मत परिणामको अन्तिम विवरण आएपछि एकताको प्रक्रिया शुरु गरिने बताए ।

हालै सम्पन्न निर्वाचनमा विजयी भएपछि नेता नेपालले त्यस क्षेत्रका जनतालाई दुवै पार्टी एकता हँदैन कि भनेर आशङ्का नगर्न आग्रह गर्दै निर्वाचन पूर्व गरिएका सबै प्रतिबद्धता पूरा गरिने जानकारी गराए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले मुलुकमा संक्रमणकालको अन्त्य भएको बताउँदै अब पूर्वाधार विकास तथा निर्माणका माध्यमबाट देशमा आर्थिक समृद्धिका कार्यलाई अगाडि बढाइने प्रस्ट पारे ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेता नेपालले साँखुको ऐतिहासिक महत्वलाई प्रवर्र्धनगर्ने तथा त्यस क्षेत्रका सम्पदास्थलको संरक्षण गर्ने प्रतिबद्धता जनाए ।

LIVE TV