२५ मंसिर २०७४, सोमबार

प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक हुँदै गर्दा लामो समयदेखिको अस्थिर राजनीतिको अन्त्य हुने सबैले आशा राखेका छन् । एमाले पहिलो दलको रुपमा उदाउँदै गर्दा लामे इतिहास बोकेको नेपाली काँग्रेस ५ वर्षका लागि प्रतिपक्षमा रहने निश्चित भएको छ । तर, अब जनताले दिएको मतको सदुपयोग गर्ने समय आएको छ ।

विजेताको सवैभन्दा ठूलो गुण विनयशीलता हो । जनमतको उच्च सम्मान र कदर गर्दै आफ्नो स्थायी सरकार निर्माण गर्न अग्रसर रहनु वाम दलको अव सवैभन्दा पहिलो दायित्व हो । मुलुकलाई समृद्धि र सुशासनतर्फ अग्रसर गर्नु नै मतदाताहरुको मतलाई न्याय दिने समय बनेर उदाएको छ ।

विभिन्न आंकलन र अड्कलबाजीकाबीच अब बाम गठबन्धनबाट निर्वाचित भएका नेताहरुले आफनो जितको फेहरिस्त सुनाउनु भन्दा पनि अब आफनो क्षमता प्रदर्शन गर्ने समय आएको छ । सबैलाई थाहा छ कि निर्वाचन आफैंमा साध्य होइन । यो केवल देश विकासका निम्ति जनता मार्फत नेतृत्व नविकरण गर्ने र त्यस्तो नेतृत्वले विकासको बाटोमा लैजाने साधन मात्र हो । यो गठबन्धनले पाएको अवसर हो ।

यो अवसरको सदुपयोग हुन सकेको खण्डमा वाम दललाई कसैप्रति गुनासो गर्ने ठाउँ पनि रहने छैन । नेपाली कांग्रेसलाई पटक पटक विश्वासको बहुमत दिएर आजित भएका नागरिकले यसपल्ट वाम दलबाट इमान्दार र बलियो सरकार एवं सुशासनको अपेक्षा गरेका छन् । त्यसैले अब गठबन्धनले सबैभन्दा पहिले असल राजनीतिज्ञको भूमिका निर्वाह गर्ने बेला आएको छ । न्यूनतम राजनीतिक इमान्दारिताको पालना गरेर जनताको मतलाई सदुपयोग गर्नुपर्छ । यसलाई तोडेर राजनीतिक अवसरवादतर्फ जाने सोच कुनै पनि दलको भविष्य सर्वनाश भन्दा अरु हुने छैन ।

राष्ट्र र राष्ट्रियताको गाथा ओडेर पाएको जितलाई बाम गठबन्धनका नेताहरुले अब राष्ट्रियताको नाममा दुई छिमेकी मुलुकसँगको सम्बन्धलाई एउटै मालामा उनेर यसको प्रयोग गर्नुपर्नेछ । नयाँ अभ्यासमा मुलुक लाग्दै गर्दा ७ वटा प्रदेशमा शान्ति र समृद्धि निर्माण गर्न समेत सबैको ध्यान जानुपर्नेछ ।

प्रतिपक्ष बनेर उदाएको नेपाली काँग्रेसले समेत आफनो इतिहासलाई हेरेर प्रतिपक्षको दायित्व भन्दा पनि मतदाताहरुले आफुमाथि गरेको विश्वासको माध्यमबाट सत्तापक्षले गर्ने गलत काममाथि आलोचना गरेर जनताको मनमा बसेको राजनीतिप्रतिको नजिरलाई हटाउनु छ । आशा ठूलो छैन , नागरिकको दैनिक जीवनलाई छुने साना विषयहरु बग्रेल्ती छन् । काठमाडौं लगायत देशका मुख्य शहरहरुको पूर्वाधार दयनीय छ ।

मेची देखि महाकाली सम्मका हरेक ठूला साना शहर वजारका नागरिकलाई धुलो रहित दैनिक जीवन चाहिएको छ । खानेपानी, सार्वजनिक शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन नागरिकले खोजिरहेका छन् । नागरिकले आफनो विश्वास प्रकट गरेर दिएको मतलाई अब त्यसमाथि खरो उत्रिने समय दलहरुको छ । आफनो जितमा मात्तिनुहुँदैन भन्ने र हारमा आत्तिनु हुँदैन भन्ने मनस्थिति बनाएर अघि बढे पाँच वर्षमा मुलुकले काँचुली फेर्ने पक्का छ ।

LIVE TV