२५ मंसिर २०७४, सोमबार

नयाँदिल्ली। भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनित भएका छन् ।

पुर्वानुमान अनुसार नै उनी अध्यक्षमा मनोनित भएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले कांग्रेसको नेतृत्व गान्धी परिवारबाट अर्को पुस्ताले गर्न लागेको बताए । ‘राहुल गान्धी भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षको रुपमा मनोनित भएको घोषणा गरिएको छ,’ उनले कांग्रेस मुख्यालय नयाँदिल्लीमा पत्रकारहरुसँग भने । ‘यो ऐतिहासिक घटना हो,’ उनले थपे ।

झन्डै दुई दशकदेखि पार्टीको नेतृत्व गर्दै आएकी ७१ वर्षीय सोनीया गान्धीले राहुललाई अध्यक्षको पद हस्तान्तरण गरेकी हुन् । गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि अर्को पुस्तालाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा नै गरिएको थियो ।

राहुलका पिता राजीव गान्धी, राजीवका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरु भारतको प्रधानमन्त्री भएका थिए ।

राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले अध्यक्ष बनाइएको हो । उनले आउदो शनिबार नयाँदिल्लीमा विषेश समारोहकाबीच पदीय जिम्मेवारी सम्हाल्नेछन् । भारतीय कांग्रेसका कार्यकर्ताहरुले राहुल पार्टी अध्यक्षमा निर्वाचित भएपछि उनको समर्थनमा नाराबाजी गरेका थिए ।

‘धेरै वर्षदेखि म यो दिनको प्रतिक्षामा थिएँ । मेरो हर्षको सिमा छैन,’ लामो समयदेखि कांग्रेस पार्टीको सदस्य रहेका प्रेम चौधरीले भने ।
सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान फितलो भएको भन्दै कडा आलोचना भएको थियो । रासस

LIVE TV