२५ मंसिर २०७४, सोमबार

चुनावमा सफल व्यक्ति देउवा र ओली होइनन्, प्रचण्ड हुन्,

काठमाण्डौ । रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले तत्काल पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको मिति तोकेर चुनावमा बेहोरेको हारको समिक्षा गर्नुपर्ने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानले चुनावमा कांग्रेसले बेहोरेको पराजयको नेतृत्व तहले जिम्मेवारी लिँदै सभापति देउवाले राजिनामा दिएर विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

“पार्टी सभापतिको नेतृत्वमा चुनाव भएर संघीइ लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको र संविधान कार्यान्वयन हुनु ठूलो उपलब्धि हो । तर कांग्रेस हार्नुमा चाँही नेतृत्व्को ठूलो कमजोरी छ । त्यसैले पार्टी सभापति, पदाधिकारी, केन्द्रिय सदस्यहरु र जिल्लासभापति सबैले सामुहिक राजिनामा दिनुपर्छ । विशेष महाधिवेशन गराएर युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ” प्रधानले भने ।

अर्का नेता प्रकाशमान सिंहले आइतबार ऋषि धमलाको टेलिभिजन कार्यक्रम धमलाको हमलामा बोलेको कुराप्रति अपात्ति प्रकट गर्दै भने, “प्रकाशजिलाई सभापति देउवाको राजिनामा माग्ने अधिकार छैन । उहाँ काठमाण्डौ जिल्ला सभापति हुँदा कांग्रेसले सबै सिट हारेको थियो । तर उहाँले राजिनामा नदिइकन चुप लागेर बस्नुभयो । अहिले कसरी राजिनामा माग्नुभयो ? यसमा मेरो असहमति छ । त्यो नैतिक अधिकार उहाँमा छैन ।”

यसअघि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहँदा पनि कांग्रेस पराजित भएको तर राजिनामा नदिएको प्रसंग कोट्याउँदै प्रधानले नैतिकताका आधारमा राजिनामा दिने संस्कारको सुरुवात अहिलेका सभापति देउवाले गर्नुपर्ने बताए । “कांग्रेसले चुनाव हारिसकेपछि देउवाले राजिनामा दिएर आदर्श व्यक्ति बन्न सक्नुपर्छ । यही अवस्थामा उहाँको नेतृत्वले पार्टीलाई अगाडि बढाउन सक्दैन ।” उनले भने ।

सभापति देउवाले अनेक चुनौतिकाबिच पनि चुनाव सम्पन्न गराएर देशका लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै प्रधानले कांग्रेसले चुनाव हाुर्नको पछाडि देउवा मात्र नभै सबै जिम्मेवार नेता भएको बताए ।

“सबैले सामुहिक रुपमा जिम्मेवारी लिएर अगाडि बढ्नुपर्ने बताए । देउवालाई मात्र दोष दिएर कोही पनि उम्कन मिल्दैन । केन्द्रिय पदाधिकारीहरु सबैले राजिनामा दिनुपर्छ ।” प्रधानले भने ।

सभापति देउवाले चुनावी प्रचारका क्रममा भने नयाँ नेतृत्वका रुपमा अरु कसैलाई अघि नसार्नु गल्ती भएको बताए । कसैको नाम नलिए पनि अब नयाँ व्यक्तिलाई नेतृत्व दिन्छु भन्न सकेको भए जनतामाझ सकारात्मक सन्देश जाने प्रधानको तर्क थियो । चुनावमा जाँदा प्रधानमन्त्रीको रुपमा कसैलाई पनि अघि नसार्नु हारको एउटा कारण हो । नेतृत्वले चुनावमा बेला दिएका अभिव्यक्तिलाई पनि जनताले रुचाउन नसकेको प्रधानको भनाई छ ।

त्यसैगरी कांग्रसको भोट बैँक रहेको प्रदेश नम्बर २ मा कांग्रेसले राजपा र संघिय समाजवादी फोरम नेपालसँग प्रभावकारी रुपमा तालमेल गर्न नसकेको कारणले पनि कांग्रेसले हारेको उनको भनाई छ ।

फरक प्रसंगमा प्रधानले चुनावमा एक्लै जाँदा हार्ने थाहा पाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग जनु किसिमको तालमेल गरे त्यसले प्रचण्डलाई सफल बनाएको बताए ।

यसपटकको चुनावमा शेरबहादुर देउवा र केपी ओलीभन्दा पनि प्रचण्ड सफल भए । उनले राजनीतिमा राजनीतिमा सम्भव र असम्भवको खेल हो भन्थे, त्यही भयो ।

एमालेसँग तालमेल गरेर हारिसकेको पार्टीलाई जिताए । यो ठूला उपलब्धि हो । चुनावअघि एमालेसँग गठबन्धन गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले महत्वपूर्ण सफलता हासिल गरे । राष्ट्रिय दलसमेत बन्न नसक्ने अवस्थामा पुगेको माओवादीलाई राम्रो हैसियतमा पु¥याउनु प्रचण्डको सफलता हो । प्रधानले भने ।

एमाले–माओवादी गठबन्धन सत्ताका लागि भएको जिकिर गर्दै प्रधानले नेपाली कांग्रेस प्रतिपक्ष दलको भूमिकामा रहने बताए ।
प्रधानले भने, “सरकारको गुण र दोषका आधारमा विरोध र समर्थन गछौँ । संसदमा शसक्त प्रतिपक्षको भूमिकामा रहन्छौँ ।”

LIVE TV