२५ मंसिर २०७४, सोमबार

नयाँ निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गर्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको विश्वास जितेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएको प्रमाणपत्र बुझ्न र बिजय र्‍यालीलाई सम्बोधन गर्न झापा पुगेका ओलीले कांग्रेसको नाम नलिई प्रतिपक्षसँग सम्मानपूर्ण व्यवहार हुने बताए ।

‘हामीले स्वभाविक बिजय हासिल गरेका छौं । जनताले हाम्रो एजेण्डा र हामीले लिएका अडानलाई अनुमोदन गरेका छन्’ झापाबाट निर्वाचित सबै सांसदहरुलाई छेउमा राखेर ओलीले भने, ‘अब हामी प्रतिपक्षसँग सहकार्य र सम्मानपूर्ण व्यवहार गर्दै देश विकासको बाटोमा अघि बढ्छौं ।’

सरकार सञ्चालनमा निष्पक्षता, स्वच्छता र पारदर्शिता आफ्ना प्राथमिकता हुने उनले प्रष्ट पारे । ‘अब राजनीतिका कुरा होइन विकासका कुरा गर्छौं ।

हामीले बहुमत ल्याउनेमात्र सोचेको थिएनौं, बहुमत ल्याएपछि के गर्ने भन्ने पनि सोचेर अघि बढेका हौं’ एमाले अध्यक्ष ओलीले भने, ‘त्यसैले साम्प्रदायिक विद्धेषको अन्त गर्दै राष्ट्रिय एकता कायम गरेर विकास र सम्बृद्धिको बाटोमा मुलुलाई लैजान्छौं ।’

LIVE TV