२५ मंसिर २०७४, सोमबार

आइसिसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपमा युएईसँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ ।
नेपालले दिएको २ सय २२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । युएईको जितमा घुलाम सबीरले नटआउट ८१, रोहन मुस्ताफाले ६२ र रमित शाहजदले ३७ रनको योगदान दिए । नेपालका शरद भेषावाकर र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

युएईको आवुधावीमा यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ८१ रनको योगदान दिए । तेश्रो नम्बरमा व्याटिङ गर्न आएका शरदले अन्तिमसम्म ९५ बलको सामाना गर्दै ५ चौका समेत प्रहार गरे ।

यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ६ चौका प्रहार गर्दै ५४ रन बनाए । ओपनर दिलिपनाथ १६ रनमा आउट भए पनि शरद र ज्ञानेन्द्रले दोश्रो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।

नेपाल र युएईबिच शुक्रबार दोश्रो खेल हुने छ । च्याम्पियनसिपको शीर्ष ४ टीममा पर्ने सम्भावना सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन् ।

दुवै टीमले यो खेललाई डिभिजन टूको तयारीका लागि महत्वपूर्ण हुने बताएका छन् । नेपाललाई आजको खेल हारे पनि कुनै असर परेको छैन ।

 

LIVE TV