२४ मंसिर २०७४, आईतवार

काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को पन्ध्रौं संस्करण कुमारी सिनेमा हल कमलपोखरीमा २८ गते मंसिरदेखि ३ गते पुससम्म (१४ देखि १८ डिसेम्बेर)सम्म हुन भएको छ । यस पटक नेपाललगायत ७६ देशबाट फिल्महरू आएकामा ३७ देशका फिल्महरू प्रदर्शनका लागि छानिएका छन्। दर्शकहरूको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण आदि विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, एनिमेसन र प्रयोगवादी फिल्महरू देखाइनेछन्।

यस पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १५ वटा फिल्म छन् र प्रतिस्पर्धाबाहिर ४८ वटा फिल्महरू परेका छन्। नेपाल पानोरामाअन्तर्गत चाहिं १५ वटा फिल्महरू देखाइनेछन्।

किम्फका अध्यक्ष वसन्त थापा भन्छन्, “हामी किम्फको पन्ध्रौं महोत्सव मनाउन लागेका छौं। हाम्रा शुभचिन्तक र दर्शकहरूबाट हामीलाई मिल्दै आएको सहयोगबाट हामी यहाँसम्म आइपुगेका छौं। हामी नवीन कुराहरू थपेर अझ बढी युवाहरूलाई आकर्षित गर्ने प्रयासमा छौं।”

किम्फका निर्देशक रम्यता लिम्बूको भनाइमा यस पटकको किम्फ भविष्यमुखी छ। उनी भन्छिन्, “यसअघि हामीले ‘डकल्याब’ सुरु गरेर युवा नेपाली फिल्मकर्मीहरूलाई पुनर्सम्पादन कार्यमा सघाइरहेका थियौं। यस पटक हामी ‘किम्फ लाइभ डक पिच’ नयाँ कार्यक्रम सुरु गर्दैछौं र त्यसमा उत्कृष्ट ठहरिनेलाई नगद रकम पुरस्कार पनि दिनेछौं।”

लाइभ डक पिच कार्यक्रमअन्तर्गत फिल्म निर्माताहरूले आफूले बनाउँदै गरेका निर्माणाधीन डकुमेन्ट्रीबारे अन्तर्राष्ट्रिय विज्ञहरूलाई दर्शकहरूसामु प्रस्तुतीकरण गर्नेछन्। विज्ञहरूले उत्कृष्ट ठहर्‍याएका प्रस्तुतिलाई नगद पुरस्कार राशि प्रदान गरिनेछ। यस कार्यक्रमबाट फिल्मकर्मीहरूले तयार पारेको अवधारणा र उनीहरूको फिल्म निर्माण प्रविधि र शैलीबारे दर्शकहरूले प्रत्यक्ष जानकारी प्राप्त गर्ने सक्नेछन्।

यस पटकको निर्णायक मण्डलमा बान्फ माउन्टेन फिल्म फेस्टिभलका जोआना क्रोस्टन, भारतका रीना मोहन र नेपालका केसाङ छेतेन सदस्य रहेका छन्। रीना मोहनले डकुमेन्ट्री सम्पादनबारे प्रवचन दिने कार्यक्रम रहेको छ। त्यसैगरी ‘द आइल्यान्ड्स एन्ड द हवेल्’ नामक डकुमेन्ट्रीको प्रदर्शनका साथै त्यसका ब्रिटिस निर्देशक माइक डेद्वारा विशेष प्रवचन हुनेछ।

यस वर्षको किम्फ बेन नाइट्लीद्वारा निर्देशित ‘द लास्ट हनिहन्टर’ नामक ३५ मिनेटको डकुमेन्ट्रीको एसिया प्रिमियरबाट सुरु हुनेछ । न्यासनल ज्योग्राफीसितको सहकार्यमा निर्मित यस डकुमेन्ट्रीमा भोजपुरको हिङ्गु उपत्यकामा भीरमौरीको चाका काढ्ने दुष्कर तथा जोखिमपूर्ण कार्यलाई देखाइएको छ।

महोत्सवको समापन समारोहमा भने भुटानका जोङसार जामयाङ खेन्चे रिम्पोचेद्वारा निर्देशित “हेमा हेमाः सिङ मी अ सङ ह्वाइल आइ वेट” को विशेष प्रदर्शन गरिनेछ। यो फिल्म ९५ मिनेट लामो छ र यसको निर्माण सन् २०१६ मा गरिएको हो। नेपाल र बेलायतको संयुक्त प्रयासमा बनेको ९३ मिनेट लामो डकुमेन्ट्री “चिल्ड्रेन अफ स्नो” को वर्ल्ड प्रिमियर तथा विश्वविख्यात ब्रिटिस पर्वतारोही सर क्रिस बोनिङ्टनको जीवनमा आधारित डकुमेन्ट्री “बोनिङ्गटन स् द माउन्टेनर” को एसिया प्रिमियर पनि यस पटकको किम्फमा गरिनेछ।

त्यसैगरी इटली र क्यानडाको संयुक्त फिल्म “मिडनाइट सनः द जर्नी होम” को विशेष प्रदर्शन हुनेछ। यस वर्ष विख्यात स्वीस भूगर्भविद् टोनी हागनको शतवार्षिकी हुनाले उनले खिचेका पुराना तस्बिरहरूको प्रदर्शनका साथै उनको फिल्म “उहिलेको नेपाल” पनि देखाइनेछ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशस् अमेरिकी डलर १५००।– १,०००।– र ५००।– को नगद पुरस्कार दिइनेछ र नेपाल पानोरामाअन्तर्गत आख्यान र गैर(आख्यान विधामा क्रमश ७५,०००।– र ५०,०००।– रुपियाँको नगद पुरस्कार राखिएको छ। इसिमोडले १,०००।– अमेरिकी डलरको नगद पुरस्कार आफ्ना सदस्य राष्ट्रहरूबारे बनेका उत्कृष्ट माउन्टेन फिल्मलाई प्रदान गर्नेछ। किम्फको “अडियन्स अवार्ड” दर्शकहरूको सबैभन्दा बढी मत पाउने फिल्मले पाउनेछ। त्यसैगरी नेपालको फिल्म समीक्षक समाजले उत्कृष्ट ठहर्‍याएको अन्तर्राष्ट्रिय फिल्मले समाजको तर्फबाट ट्रफी पाउनेछ।

LIVE TV