२४ मंसिर २०७४, आईतवार

दाङमा प्रतिनिधिसभा सदस्यका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभामा भने कांग्रेसले एक सिट जित्दै साख जोगाउन सफल भएको छ ।

दाङ क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार मेटमणि चौधरी निर्वाचित भएका छन् । पहिलो पटक आम चुनाव लडेका मेटमणिले पूर्वसांसद एवम् नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरीलाई १३ हजार ८३४ मतान्तरले हराए ।

कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको घर भएको दाङ क्षेत्रनम्बर १ मा जित निकाल्ने क्रममा मेटमणिले ३७ हजार ९०८ मत प्राप्त गरे । उनको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी छन् ।

यसैगरी दाङ क्षेत्रनम्बर २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा भारी मत अन्तरले विजयी भएका छन् । महराले कांग्रेसका पूर्वसांसद राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराए ।

महराले ४० हजार ४२ मत पाए भने खनालले २५ हजार ८९७ मत पाएका छन् । महरा पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्रनम्बर ३ बाट विजयी भएका थिए ।

दाङ क्षेत्रनम्बर ३ मा पनि वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसी निर्वाचित भएका छन् । दाङ जिल्ला सचिव समेत रहेका युवा नेता केसीले कांग्रेस कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व सिचाइँ मन्त्री दीपक गिरीलाई पराजित गरे ।

केसीले ४० हजार २८७ मत पाए भने गिरीले ३३ हजार ७३० मत पाए । उनीहरुबीचको मतान्तर ६ हजार ५५७ छ ।

LIVE TV