२३ मंसिर २०७४, शनिबार

जनकपुरधाम । कांग्रेसको गढ मानिएको धनुषाको तीन वटा निर्वाचन क्षेत्रमा राजपा—फोरमको मधेसवादी गठबन्धन निरन्तर अग्रस्थानमा छन् । कांग्रेस तथा बाम गठबन्धनका उम्मेदवारलाई पछाडि पार्दै राजपा—फोरमका नेताहरु शुरुवाती चरणदेखि नै अगाडि छन् ।

सार्वधिक चासो रहेको धनुषा क्षेत्र नम्बर ३ मा राजपाका नेता राजेन्द्र महतो महतो २२ हजार ३ सय ७ मत प्राप्त गरी अग्रस्थानमा छन् । कांग्रेस नेता विमलेन्द्र निधिले २१ हजार १ सय २१ मत ल्याएर दोस्रो स्थानमा संघर्ष गरिरहेका छन् । राजपा—फोरमको गठबन्धनबाट उम्मेदवार बनेका महतोबाट १ हजार १ सय ८६ मत अन्तरले निधि पछि परेका छन् । धनुषा ३ मा ९७ हजार ५ सय २ मतदाता रहेकोछ ।

धनुषा क्षेत्र नम्बर २ मा राजपा—फोरमका उम्मेदवार उमाशंकर अरगडिया शुरुवाती परिणादेखि अग्रस्थानमा छन् । अरगडिया १० हजार ९ सय ५३ मत प्राप्त गरी अगाडि छन् । माओवादी नेता रामचन्द्र झा ६ हजार २ सय १८ मत ल्याएर दोस्रो स्थानमा छन् । धनुषा क्षेत्र नम्बर ४ मा समेत राजपा—फोरमका उम्मेदवार महाजन यादव शुरुवाती मतपरिणाम देखि नै अग्रस्थानमा छन् ।

महाजन यादवले ४ हजार ७ सय ९७ मत ल्याएर अगाडि छन् । कांग्रेस नेता महेन्द्र यादव ४ हजार ५ सय ६९ मत प्राप्त गरी महाजनलाई पछयाउँदैछन् । धनुषा क्षेत्र नम्बर १ मा भने माओवादी नेता मातृका यादवको अग्रता कायमै छ । यादव ४ हजार २५ मत प्राप्त गरी निरन्तर अग्रता कायम राखेका छन् । राजपा—फोरमका उम्मेदवार दिपक कार्की २ हजार ७ सय ८६ मत ल्याएका छन् ।

कार्की ७ सय ६१ मतले पछाडि छन् । अवेर राति सम्म धनुषा ३ को अन्तिम मतपरिणा आईसक्ने मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए । मतगणना स्थनमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतपत्र जोगाउनका लागि तारजालीले घेरिएको छ ।

LIVE TV