२३ मंसिर २०७४, शनिबार

२३ मंसिर, काठमाण्डौ। ‘योपटक राष्ट्रिय पार्टी, अर्कोपटक देशको नेतृत्व ।’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रेको थियो रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी । तर, अब विवेकशील साझा पार्टी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ ।

राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेकै हुनुपर्छ । समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गरेर थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ ।

विवेकशील साझाले जित्ने सम्भावना भएका भनिएका क्षेत्रको नतिजा आइसकेको छ । अब समानुपातिकमा ३ प्रतिशत मत आयो भने पनि राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फको हारले विवेकशीललाई चुकाएको छ ।

काठमाडौं १ मा पराजित भइसकेपछि रविन्द्र मिश्रले जारी गरेको वक्तव्यमा भनेका छन्- ‘योपटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो । समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं ।’

रविन्द्र मिश्रले देशभरिबाट समानुपातिकतर्फ ‘सोचेभन्दा बढी मत आउने’ अपेक्षा गरेको बताए पनि प्रत्यक्षतर्फ कम उम्मदेवारी दिएका कारण समानुपातिकमा सोचेजस्तो मत खसेको अनुमान गर्न सकिँदैन ।

कहाँ चुक्यो विवेकशील साझा ?

साझा पार्टीसँग एकता हुनुपूर्व उज्जवल थापाले नेतृत्व गरेको विवेकशीलले रञ्जु दर्शनालाई प्रोजेक्ट गरेर भोट ताने पनि काठमाडौंका विभिन्न वडामा उठेका अन्य उम्मेदवारहरुले २र४ सय भोट भन्दा बढाउन सकेका थिएनन् ।

साझा पार्टीले जसरी स्थानीय चुनावमा पूर्वसचिव किशोर थापा, निरुपमा यादव, डा. सूर्यराज आचार्य, रमेश महर्जन र शोभा शाक्यजस्ता प्रवुद्ध व्यक्तिलाई राजनीतिक मैदानमा उतार्‍यो, विवेकशीलले चाहिँ ‘टीन एजर्स’हरुमा बढी भर गर्‍यो ।

विवेकशील साझा पार्टीका नेताहरु जति आफूलाई नयाँ र वैकल्पिक धारका नेता भएको बताउँछन्, उनीहरुको सोच त्यस्तो फराकिलो देखिन सकेन । स्थानीय चुनावका बेलामा रञ्जु दर्शनालाई उपमेयरमा उठाउने र किशोर थापालाई मेयरमा उठाउने रविन्द्र मिश्रको प्रस्ताव विवेकशीलले मानेन ।

स्थानीय चुनावलगत्तै दुई पार्टीवीच एकता गर्नुपर्नेरहेछ, तर उनीहरुले महानगरमा रञ्जु दर्शना र किशोर थापालाई छुट्टा -छुट्टैरुपमा उम्मेदवार उठाए ।

भनिन्छ, हिमाल टाढाबाट हेर्दा सुन्दर देखिन्छ, तर छेउमा पुगेपछि चिसोले खप्न सकिँदैन । विवेकशील साझा पार्टीलाई पनि टाढाबाट, विदेशबाट हेर्दा जति सुन्दर र वैकल्पिक शक्तिका रुपमा मानिसहरुले ठानेका थिए, यसको नेतृत्वमा त्यस्तो उदात्त भावना देखिएन ।

LIVE TV