२२ मंसिर २०७४, शुक्रबार

म्याग्दी । म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारले जीत हात पारेका छन् । गत मंसिर १० गते सम्पन्न भएको पहिलो चरणको निर्वाचनको बिहिबार देखी सुरू भएको मतगणनामा बाम गठबन्धनबाट नेकपा एमालेका भुपेन्द्र बहादुर थापाले लोकतान्त्रिक गठबन्धनका खम्बीर गर्बुजालाई पराजित गरेका छन् ।

थापाले २३ हजार ३०८ मत ल्याएका थिए भने गर्बुजाले २० हजार ९८० मत ल्याए ।नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य समेत रहेका थापाले गर्बुजालाई २३ सय २८ मत अन्तरले पराजित गरे। त्यस्तै प्रदेशसभा ‘क’ बाट बामगठबन्धनका विनोद केसीले १४ हजार ७०४ मत प्राप्त गरेका थिए भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमप्रसाद गौचनले १२ हजार १ सय ७५ ल्याएका थिए ।

नेकपा माओवादी केन्द्रका यूवा नेता केसीले पञ्चायतकालमा अवस्थामा जिल्लामा एकछत्र राज गरेका गौचनलाई २५ सय २९ मतले पराजित गरेका थिए ।यसैगरी प्रदेशसभा ‘ख’ बाट बाम गठबन्धनकी नरदेवी पुनले १० हजार ८७२ प्राप्त गरिन् ।पुनले नेपाली कांग्रेसका क्याप्टेन अमलाल फगामीलाई पराजित गरिन् ।फगामीले ७ हजार ९९० मत प्राप्त गरेका थिए ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजकुमार कोईरालाले बिजय उम्मेदवारलाई प्रमाणपत्र वितरण गदैं निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार, सरोकारवाला निकायलाई धन्यवाद दिएका थिए । उनले निर्वाचनको मनोनयन दर्ता देखी मतगणनासम्म प्राप्त दलिय सहमतिले समेत सहज भएको बताए ।यता निर्वाचित जनप्रतिनिधिले जनताको घरदैलामा पुगेर गरेको प्रतिबद्धतालाई पुरा गर्ने बताएका छन् ।

LIVE TV