२१ मंसिर २०७४, बिहीबार

 

– हरि लामिछाने

काठमाडौँ, २१ मंसिर , प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान शुरु भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान शुरु भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ ।

दोस्रो चरणको यस निर्वाचनमा सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

यसअघिको निर्वाचनमा भन्दा यसपटक बढी मतदाताले मतदान गर्ने अनुमान गरिएको छ ।

यही मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आजको निर्वाचनमा ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि लागि दुई हजार ८१९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदका लागि पाँच हजार ८३८ उम्मेदवार निर्वाचनमा होमिएका छन् ।

आज प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मतदान हुँदैछ ।

त्यसैगरी, प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि मतदान शुरु भएको हो ।

–––

LIVE TV