२१ मंसिर २०७४, बिहीबार

२१ मंसिर, काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४५ जिल्लामा मतदान हुँदै, मतदानका लागि मतदाता उत्साहित, पहिलो चरणमा मतदान भएका जिल्लाहरुको मतगणना आजैबाट ।

काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको ऐतिहासिक निर्वाचन सुरु भएको छ । विहान सात बजेबाट सुरु मतदान साँझ पाँच बजे सकिने छ । दोश्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि अहिले ४५ जिल्लामा मतदान हुँदैछ ।

प्रदेश–१ का ७ जिल्ला, प्रदेश–२ का सबै ८ जिल्ला, प्रदेश–३ का ७ जिल्ला, प्रदेश–४ का ५ जिल्ला, प्रदेश–५ का १० जिल्ला, प्रदेश–६ का जिल्ला ३ र प्रदेश–७ का ५ जिल्लामा मतदान सुरु भएको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै पहिलो चरणको निर्वाचन भएका जिल्लाको मतगणना सुरु भएकाले थोरै मतदाता भएका कतिपय जिल्लाको मतपरिणाम मध्यरात अगावै आउने स्थिति छ । प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आज हुने दोश्रो चरणको निर्वाचनमा १ सय २८ क्षेत्रमा निर्वाचन हुँदैछ । प्रदेशसभा तर्फ भने २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुनेछ । प्रदेश–१ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा निर्वाचन हुँदैछ ।

प्रदेश–२ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठवटै जिल्लामा निर्वाचन हुँदैछ । यस्तै, प्रदेश–३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरमा पनि दोश्रो चरण अन्तर्गत आजै निर्वाचन हुँदैछ । यसैगरी प्रदेश–४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वतमा निर्वाचन हुँदैछ । प्रदेश–५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँकै र बर्दियामा हुँदैछ। प्रदेश–६ का सल्यान, सुर्खेत र दैलेख, अनि प्रदेश– ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मतदानको माहोल देखिएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मिश्रित प्रणाली अपनाइएको छ । सातवटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३ सय ३० निर्वाचन क्षेत्र छन् भने समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र प्रदेशसभामा २ सय २० सिट निर्धारण गरिएको छ ।

२ सय ७५ सिट प्रतिनिधिसभाका लागि १ सय १० सदस्य समानुपातिकबाट आउनेछन् भने ५ सय ५० प्रदेशसभा सदस्यका लागि २ सय २० सदस्य समानुपातिकबाट चुनिनेछन् । दोश्रो चरणमा निर्वाचन सम्पन्न हुने ४५ जिल्लामा १५ हजार ३ सय ४४ मतदान केन्द्र छन् । निर्वाचन आयोगले दुवै चरणको मतपरिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले प्रत्यक्षतर्फको परिणाम चारदिन र समानुपातिकतर्फको आठदिन भित्रै सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिएको छ ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालका अनुसार मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना शुरु भएको २४ घण्टाभित्रै प्रतिनिधि र प्रदेशसभा सदस्यको परिणाम सार्वजनिक हुनेछ । स्थानीय तहभन्दा प्रदेश तथा प्रतिनिधिसभाको मतपत्र छरितो भएका कारण मतपरिणाम यथासक्य छिटो सार्वजनिक हुने आयोगको दावी छ ।

LIVE TV