२० मंसिर २०७४, बुधबार

पर्वत सदरमुकामको शिवालय उच्च माबि मतदान केन्द्रमा निर्वाचनको जिम्मेवारी महिला कर्मचारीलाई मात्र दिइएको छ । कुश्मा नगरपालिका–६ को सो केन्द्रमा मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मी र स्वंयसेवक पनि महिला कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बिहीबार हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको लागि जिल्लामा नमुना मतदान केन्द्रका रूपमा महिला कर्मचारीलाई मात्र जिम्मेवारी दिइएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले बताउनुभयो । मतदान केन्द्रमा कृषि किास कार्यलयका बागवनी बिकास अधिकृत सोनी रानाको नेतृत्वमा १२ जना कर्मचारी र जिल्ला प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक पूर्णिमा थापाको नेतृत्वमा ९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मतदान केन्द्रमा सहायक मतदान अधिकृतमा खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका महिला कार्यकर्ता क्याममाया पुन र सहायक कर्मचारीमा अनिता कुमारी शर्मा, ममता ओझा, भोजकुमार शर्मा र पुजा पौडेल रहनुभएको छ । यस्तै, अन्य ४ जनालाई स्वयम्सेवकको जिम्मेवारी दिइएको छ । चुनाव गराउन महिला कर्मचारी मात्रै खटाउँदा खुसी लागेको मतदान अधिकृत रानाले बताउनुभयो ।

यो केन्द्रमा ८ सय ४३ जना मतदाता छन् । जसमध्ये ४ सय ४८ महिला र ३ सय ९५ पुरुष रहेका छन् । उनीहरूले सुरक्षित र भयरहित वातावरणमा ब्यवस्थितरुपमा भोट हाल्न पाउने रानाले बताउनुभयो ।

LIVE TV