१९ मंसिर २०७४, मंगलवार

लमजुङ । लमजुङको एकमात्रै सरकारी अस्पताल सुन्दरबजार अस्पतालको सञ्चालनमा समस्या आएको छ । अस्पतालको पर्याप्त जग्गा र भवन नहुँदा अस्पताल सञ्चालनमा समस्या आएको हो ।

File Picture

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ७ तार्कुटारमा रहेको अस्पतालमा पर्याप्त चिकित्सक छन् । आधुनिक उपकरण पनि छन् । अस्पतालले २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालसम्म पुग्न कच्ची भएपनि बाटोको पहुँच छ । उलेख्य संख्यामा बिरामीहरु पनि उपचारका लागि अस्पतालसम्म पुग्छन् । तर अस्पतालको पर्याप्त कोठासहितको भवन नहुँदा स्वास्थ्य सेवा सञ्चालनमा समस्या रहेको सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ बताउनु हुन्छ ।

अस्पतालमा ६ जना एमबीबीएस डाक्टर, ५ जना स्टाफ नर्स, जना एच्ए र २ जना ल्याव असिस्टेन्ट छन् । अस्पतालले एम्बुलेन्स सेवा दिन सकेको छैन । अस्पतालमा टेलिफोन समेत छैन । १५ शैय्या क्षमताको अस्पताल जग्गा र भवनको अभावमा ४ शैय्यामा चल्न बाध्य छ ।
अस्पतालका डा. विकल लामिछानेका अनुसार अस्पतालमा दिनहुँ ४०/५० जनाको संख्यामा बिरामीहरु आउने गर्छन् । अस्पतालले ल्याब सेवा, फार्मेसी सेवा, प्रसुती सेवा, खोप सेवा, ईसिजी लगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । सरल, सहज रुपमा आफुहरुले स्वास्थ्य सेवा पाएको बिरामीहरुको समेत भनाई छ ।

अस्पतालमा देखिएका समस्याहरुलाई समाधान गर्दै नागरिकहरुलाई प्रभावकारी ढंगले सरल, सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने लमजुङको नागरिकहरुको धारणा छ ।

LIVE TV