१९ मंसिर २०७४, मंगलवार

डडेलधुरा । डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिष्पर्धी बाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई लक्षित गरी बम विस्फोट गराइएको छ । परशुराम नगरपालिकामा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा सहभागी भएर फर्किने क्रममा आलिताल गाउँपालिका–८ बाघखोले नजिक बम विस्फोट भएको हो ।

विस्फोट पछि भट्टसहित उनको टोलीलाई सशस्त्र र जनपथ प्रहरीको टोलीले स्कटिङ गरेर सुरक्षित स्थानमा पु-याएको थियो । उम्मेदवार भट्टले बम विस्फोट घटनाबारे अनुसन्धान गरी घटना घटाउनेलाई कारवाही गर्न माग गरेका छन् । बम विस्फोट कस्ले गरायो भन्ने खुलेको छैन ।

त्यसअघि परशुराम नगरपालिकामा भएको चुनावी सभालाई लक्षित गरेर सभा नजिक बम राखिएको थियो । तर त्यो बम सेनाले डिस्पोज गरेको थियो । सभामा एमाले उपाध्यक्ष भीम रावल र माओवादी केन्द्रका नेता जनार्दन शर्मा उपस्थित थिए ।

उम्मेदवार भट्ट चढेको गाडीलाई लक्षित गरी बम विस्फोट गरिएको भएपनि उनी भन्दा अघि रहेको गाडी विस्फोटमा परेको थियो । बम विस्फोटबाट भट्टको चुनावी अभियानमा प्रयोग गरिएको भे १ च २४१९ नम्बरको गाडीको अगाडीको भागमा क्षति पुगेको छ । विस्फोटबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

 

LIVE TV