१९ मंसिर २०७४, मंगलवार

राजकमल

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिदै जाँदा धनुषाका निर्वाचन कार्यालयको व्यवस्थापन फितलो देखिएको छ । निर्वाचन आयोगले सबै तयारी पूरा गरेको जनाएपनि कर्मचारी नियुक्ति र खटनपटनमा नै समस्या देखिएको हो ।

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि खटिने कर्मचारीहरु निर्वाचन कार्यालय धनुषाको कमजोर व्यवस्थापन प्रति आक्रोशित बनेका छन् । संविधान जारी भएपछि कार्यान्वयनको मुख्य उद्देश्य रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन व्यवस्थित बनाउन नसकेको भन्दै निर्वाचन आयोगकै आलोचना सुरु भएको छ । कर्मचारीहरु नियुक्ति तथा खटनपटनमा व्यवस्थित नगरिएको कर्मचारीहरु नै बताउँछन् ।

कार्यालयको लापरवाहीका कारण कर्मचारीहरु धनुषाको सवै निर्वाचन केन्द्रमा अझै पुग्न सकेका छैनन् । प्रतिनिधिसभाको चारवटा क्षेत्र रहेको धनुषामा ८ वटा प्रदेश सभाको क्षेत्र रहेको छ । यसका लागि ५ सय ४८ मतदान केन्द्र तोकिएको धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिनुभयो ।

सुरक्षा चेक जाँचमा कडाईं गरिएपनि अझै विश्वस्त हुन सक्ने आधार नभएको कतिपयले टिप्पणी गरेका छन् । धनुषामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सेनाले विशेष गस्ती सुरु गरेको छ । यद्धपि मंसिर २१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनका लागि मतदाताहरु निकै उत्साहित देखिएका छन् ।

LIVE TV