१८ मंसिर २०७४, सोमबार
  • प्रदीप राज दाहाल

काठमाडौं । निर्वाचन जति नजिकियो सुरक्षा चुनौती त्यति नै बढ्दै गएका छन् । निर्वाचन आउन तीन दिन बाँकी रहँदा कडा सुरक्षा व्यवस्था रहेको काठमाडौंमा नै आतंक मच्चाउने गिरोह सक्रिय भइरहँदा काठमाडौं बाहिरको समेत माहोल त्यस्तै नै छ । जनतामा निर्वाचनलाई लिएर उत्साह भन्दा पनि भय बढ्दै गएको छ ।

अझ, सोमबार भिआईपी क्षेत्रको रुपमा गनिने बालुवाटारमा भेटिएको बम होस् वा बुढानिलकण्ठ क्षेत्रमा विस्फोट भएको बम । सिंगो मुलुकको सुरक्षामाथि प्रश्नमात्र तेर्सिएको छ ।सुरक्षा संयन्त्रको रणनीति र व्यवस्थापनका पाटामाथि सरकारको गैरजिम्मेवारीपन र गृहमन्त्रालयमा छुट्टै मन्त्रीको अभाव सिंगो मतदाताहरुलाई नै खड्किएको छ ।

चुनावी सरगर्मीले ४५ जिल्ला तात्नुपर्ने संघारमा विस्फोट र आक्रमणका घटनाले मतदाताहरुको मन आत्तिएको छ । फितलो सुरक्षा रणनीतिका कारण सरकारको गैरजिम्मेवारीपनमा गिर खेल्दै गरेका चुनाव विरोधी गिरोहको सक्रियता यतिबेला सबै सुरक्षा संयन्त्रको मात्र नभई मतदाताहरुका लागि समेत टाउको दुखाईको विषय बनेको छ ।

चुनावी सभा, समारोहमा जान डराएका छन्, मतदाता । सुनसान सडकमा र भीडभाड हुने स्थानबाट बच्न खोजिरहँदा सरकार भने सुरक्षा चुस्त भएको भनाई राख्दै आक्रमणका घटनाबाट पन्छिरहेको छ । तर्साउनका लागि राखिएको बम भन्दै गर्दा सोमबार मात्रै उम्मेद्वार लक्ष्ति गरि भएको आक्रमणले एक पटक फेरि गृहमन्त्रालयको सुरक्षा तयारी र सरकारको रणनीतिमाथि प्रश्न उठेको छ ।

ठाउँठाउँमा बम भेटिइरहँदा सुरक्षा संयन्त्र भन्दा एक कदम अगाडि झै देखिएका गिरोहले सुरक्षा संयन्त्रको कमजोरीमा हानेको वार हरेक पटक सफल भएको छ । तर, सरकारको रणनीति विफल हुनुले मतदातामा देखिएको उत्साह कम भएको महसुस सबैले गरेका छन् । मंसिर १० को निर्वाचनलाई लक्षित गरि विस्फोट भएका घटना भन्दा दोश्रो चरणमा लक्षित गरि भएका आक्रमण निकै आक्रमक देखिएको छ ।

शनिवार यता सुरक्षाकर्मी उल्लेख्यमात्रामा परिचालन हुने स्थानमा नै बम भेटिएको छ , बालुवाटारस्थित सभामुखको सरकारी निवासमा भेटिएको बम र आइतबार रक्षा मन्त्रीको घरमा भेटिएको बम फरक भएपनि उद्धेश्य निर्वाचनलाई असर पार्ने काम नै भएको थियो । घटना हुनुभन्दा पनि हुनै नदिनुतर्फ केन्द्रीत हुनुपर्ने समयमा उम्मेद्वार नै आक्रमणमा परेर घाइते हुँदा समेत सरकार सजग नहुनुले गृहमन्त्रालय मन्त्रीविहीन हुनुलाई प्रष्ट पारेको छ ।

निरन्तर निशानामा प्रधानमन्त्रीदेखि मन्त्री र उम्मेद्वार नै पर्दा गृहमन्त्रालयको सुरक्षा सुदृढ रहेको भनाईले मतदाता आश्वास्त हुन सकेका छैनन् । राज्य संयन्त्रबाट नै पश्रय पाइरहेको जस्तो लाग्ने यि घटनाहरुले मुलुक आतंकित भइरहँदा सरकारले अब पनि ध्यान दिएन भने छिटफुट रुपमा देखिएका यि घटनाहरु निर्वाचनको समयमा नबढ्लान् भन्न सकिँदैन ।

LIVE TV