१८ मंसिर २०७४, सोमबार
  • रामहरि श्रेष्ठ

ओखलढुंगा ।  पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपेटिकाको सुरक्षाप्रति सबैको चासो बढेको छ । चिसो बढ्दै जाँदा कठ्यांग्रिएर भएपनि दलका कार्यकर्ताहरु मतपेटिकाका सुरक्षाका लागि रातभर खटिने गरेका छन् । नेताहरु जिल्लाका बिभिन्न स्थानमा भेटिने गरिएपनि कार्यकर्ताहरु चिसोमा कठ्यांगिएर मतपेटिकाको सुरक्षाको सुर्तामा रहेको अवस्थामा भेटिन्छन् ।

ओखलढुंगामा मतपेटिका सुरक्षाका लागि भन्डारण स्थलको मुल ढोकामा चार ओटा ताल्चा झुन्ड्याएका छन् । जिल्लामा नौ राजनीतिक दलहरु चुनावी मैदानमा रहेको भएपनि ढोकामा तीन दलका तीन ओटा र मुख्य निर्वाचन अधिकृतको कार्यलयका तर्फबाट एक गरी चार वटा ताल्चा लगाई सुरक्षा दिईरहेका छन् ।

मतदान सकिएसंगै मतपेटिका भञ्डारण जिल्ला समन्वय समितिको हललाई सुरक्षाकर्मीको तीन घेराभित्र राखिएको छ । तर पनि दलका नेता कार्यकर्ताहरुले भने सुरक्षाकर्मीलाई पनि निगरानीमा राखेका छन् भने सुरक्षाकर्मीलेपनि दलका नेताहरुलाई निगरानी गरिरहेका छन् । यसरी सुरक्षामा राखिएको ढोकातर्फ भने काँडेतार राखिएको छ ।

कम्पाउण्ड बाहिरबाट परिचय पत्र देखाएर भित्र पसेसंगै अर्को एक घेरामा चेकजाँचपछि मतपेटिका शिल गरिएको छेउमा पुग्न सकिन्छ । मतपेटिकाको सुरक्षाका लागि दलका प्रतिनिधि बस्नका लागि टेन्ट टाँगेर छुट्टा छुट्टै बस्ने व्यवस्था गरिएको छ । चिसोको समस्या भए पनि शीर्ष तहबाट निर्देशन भएकाले सोही अनुसार निगरानी गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष अषेश श्रेष्ठले बताउनुभयो ।

यता मुख्य निर्वाचन अधिकृत कैलाश केसीले मतपेटिकाको सुरक्षाका लागि उच्च सर्तकता अपनाइएको बताउनु भयो । त्यसमा कसैले शंका गर्नु पर्ने अवस्था नरहेको समेत उहाँको भनाइ छ ।

जिल्ला स्थित राजनीतिक दलका शीर्ष नेताहरु भने चुनावी प्रचारप्रसारका लागि दोस्रो चरणमा निर्वाचन हुने अन्य जिल्लाहरुमा खटिएका छन् । ओखलढुंगामा मंसिर १० गते भएको मतदानलाई लिएर बिभिन्न अड्कलबाजी भएरहेका छन् ।

बजारका साना देखि ठूला होटलहरु, चोक, गल्ली लगाएत मानिसहरुको बाक्लो जमघट हुने स्थानहरुमा निर्वाचन कस्ले जित्छ भन्ने अड्कलबाजी भइरहेका छन् । यता मतपेटिका रुंगेर बस्ने दलका कार्यकर्ताहरु भने चिसोले समातेर थला पर्ने अवस्थामा पुगेका छन् ।

 

LIVE TV